post-slider post-slider

टिकटक प्रतिबन्धविरूद्धको मुद्दा : सर्वोच्चले दिएन अन्तरिम आदेश

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले रिटकर्ताको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

अन्तरिम आदेश नदिएको इजलासले टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने कारण १५ दिनभित्र पेस गर्न सरकारलाई आदेश दिएको छ।

यो मुद्दाको पूर्ण सुनुवाइका लागि मंसिर १९ गते पेसी तोकिएको छ।

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए। यी रिटहरूमाथि मंगलबार प्रारम्भिक सुनुवाइ भएको हो।

यसअघि सोमबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो।

टिकटक प्रतिबन्धविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता त्रिलोकबहादुर चन्द, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, सुनिलरञ्जन सिंह, यज्ञमणि न्यौपाने र फर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको थियो।

कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन्।

 

Tags: