post-slider post-slider

म्याक्सवेलले गरे कीर्तिमानी ब्याटिङ

Image
A A

काठमाडौं- अस्ट्रेलियाका ग्लेन म्याक्सवेल एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर बनेका छन्।

बुधबार नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा नेदरल्यान्ड्सविरूद्ध म्याक्सवेलले यो कीर्तिमान बनाएका हुन्।

उनले ४० बलको सामना गरेर आफ्नो शतक पूरा गरे।

म्याक्सवेलले पहिलो ५० रन २७ र दोस्रो ५० रन १३ बलमा पूरा गरेका थिए।

म्याक्सवेलले विश्वकपमा छिटो शतक बनाउने दक्षिण अफ्रिकाका एडेन मारक्रमको कीर्तिमान तोडेका हुन्।

मारक्रमले जारी विश्वकपमै श्रीलंकाविरूद्धको खेलमा ४९ बलमा शतक बनाएका थिए।

२४०.९० को स्ट्राइक रेटले ब्याटिङ गरेका म्याक्सवेलले आफ्नो शतकीय इनिङमा ९ चौका र ८ छक्का प्रहार गरे।

नेदरल्यान्ड्सका बास डी लिडेले छातीको उचाइमा फ्यालेको बललाई फाइन लगेका छक्का प्रहार गरेर यो कीर्तिमान बनाए।

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले नेदरल्यान्ड्ससामु ४ सय रनको लक्ष्य प्रस्तुत गरेको छ।

म्याक्सवेलअघि अस्ट्रेलियाका लागि डेविड वार्नरले शतक प्रहार गरेका थिए। ९३ बलको सामना गरेका उनले ३ छक्का र ११ चौका प्रहार गरेर १०४ रन बनए।

त्यस्तै स्टिव स्मिथले ६८ बलमा ७१, मार्नस लाबुसेनले ४७ बलमा ६२, जोस इंग्लिसले १४ र क्यामरून ग्रिनले ८ रनको योगदान दिए।

अस्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३९९ रन बनायो।

अहिलेसम्म ४ म्याच खेलेर दुईमा जित हासिल गरेको अस्ट्रेलिया अंकतालिकामा ४ अंकसहित चौथौं स्थानमा रहेको छ।

नेदरल्यान्ड्सविरूद्धको खेलमा जित हासिल गरे अस्ट्रेलिया तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा पुग्नेछ।

अंकतालिकामा अहिलेसम्म सबै पाँच जितेको भारत शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा छ।

अंकतालिकामा शीर्ष चार स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछ।

 

 

Tags: