post-slider post-slider

श्रम बैंकमा आबद्ध हुन काठमाडौं महानगरद्वारा आवेदन माग

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाले श्रम बैंकमा आबद्ध हुन आवेदन माग गरेको छ। रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध गराउने उद्देश्यले महानगरले आवेदन माग गरेको हो।  आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक सञ्चालन गर्ने योजना छ। सोही आधारमा उक्त नीति कार्यान्वयन गर्न आवेदन आह्वान गरेको महानगरको भनाइ छ।

यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन्। 

त्यसका लागि सूचना र परिपत्र खण्डमा रहेको ‘काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको श्रम बैंकमा आबद्ध हुने बारेको सूचना’ मा थिच्नुपर्छ। यसपछि खुल्ने पेजमा सूचनाको ब्यहोरा भएको र अनुसूची १ बमोजिमको फाराम सम्बन्धी २ वटा फाइल देखिनेछन्। आफूलाई चाहिने जानकारी सूचनाबाट लिन सकिनेछ। 

यसमा आफ्नो विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्र, आफूले चाहेको काम सम्बन्धी विवरण भर्नुपर्छ। फारममा अन्यसहित ६४ प्रकारका काम उल्लेख गरिएको छ।  यो फारम डाउनलोड गरेर भर्न सकिनेछ। भरिएको फाराम आफू बसेको वडामा अथवा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउन सक्नेछन्। 

श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुने तर काठमाडौँमा बसेको हुनुपर्ने राईले बताइन्।  महानगरपालिकाले चालू आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ। त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ। यसमा काठमाडौँ महानगरपालिकावासीलाई विशेष प्राथमिकता दिइनेछ। 

यसबाट महानगरपालिकालाई आवश्यक पर्ने श्रम शक्तिको उपलब्धता सहज हुनेछ। यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिनेछ। यसले बेरोजगार रहेका श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउँछ। श्रम संस्कृतिको विकास गर्छ। यस्तै वैदेशिक रोजगारीमा युवा श्रम शक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्ने राईको भनाई छ।

Tags: