post-slider post-slider

आज कोसीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै, बहुमत पुग्ला? 

Image
A A

विराटनगर- कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन्। साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिएकोमा आज विश्वासको मत लिन लागेका हुन्।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका थापालाई गठबन्धन दलको साथ छ। उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ।

विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए। गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ। तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ।

साउन १६ गते सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए। त्यसपछि गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। कोसी प्रदेशसभामा नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (.राप्रपा)का ६ सांसद छन्। सदनमा एमाले र राप्रपा साथै छन्।

सभाध्यक्षमण्डलमा एमालेकी मालती लिम्बू, राप्रपाका अमरबहादुर विष्ट, माओवादीकी गीता तिम्सिना र कांग्रेसका इसराइल मन्सुरी छन्।

यसैबीच, आजको बैठकमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश सभाका ज्येष्ठ सदस्यहरू अनुपस्थित हुने भएका छन्।

उनीहरूले ‘घरायसी’ कारण देखाएर आफूहरू आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रदेशसभा सचिवालयलाई गराएका छन्। सभामुख र उपसभामुख अनुपस्थित भए सभा सञ्चालन गर्न सक्ने गरी गठन भएको सभाध्यक्ष मण्डलका सदस्यमध्ये एमालेकी मालती सुब्बासहित आठजनाले अनुपस्थित हुने जानकारी दिइसकेका छन्। 

सभाध्यक्ष मण्डलकै अर्का सदस्य राप्रपाका अमरबहादुर विष्टले पनि आफूलाई ‘केहीअघि डेंगी लागेको र अहिले घरमै आराम गरिरहेको’ भन्दै सोमबारको बैठकमा अनुपस्थित रहने बताएका छन्।

 

Tags: