post-slider post-slider

‘प्रहरी समायोजन टुंग्याउन पुनः प्रधानमन्त्रीलाई ध्यानाकर्षण’

Image
A A

काठमाडौं- मधेस प्रदेस सरकारले संविधानमा व्यवस्था भए बमोजिम संघीय कानुनहरू चाँडै निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएको छ।

मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर कानुन निर्माण कार्यलाई यथाशीघ्र अगाडि बढाउन ध्यानाकर्षण गराएको हो।

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री यादव नेतृत्वको टोलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो।

भेटमा मुख्यमन्त्री नेतृत्वको टोलीले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेस प्रहरी समायोजन टुंग्याउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको छ।

यो अवधिमा निजामती सेवा ऐन र प्रहरी समायोजन प्रक्रिया नटुंगिए सरकारलाई दिएको अल्टिमेटम पूूरा भएको भन्दै आफूहरू संघर्षमा जाने मुख्यमन्त्री यादवले प्रधानमन्त्री प्रचण्डलाई स्मरण गराएका थिए।

मधेस प्रदेसका मुख्यमन्त्रीसहित मन्त्रीहरूको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर निजामती सेवा ऐन र प्रहरी समायोजन टुंग्याउन ध्यानाकर्षण गराउँदै एक महिनाको अल्टिमेटम दिएको थियो।

यो अवधिमा माग सम्बोधन नभए संघर्षमा उत्रिने उनीहरूले चेतावनी दिएका थिए।

प्रचण्डले मुख्यमन्त्री यादवसहितको टोलीलाई संघीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका थिए।

‘संघीय कानुन समयमै निर्माण गर्न मैले निरन्तर पहल गरिरहेको छु। तपाईंहरू सबैले यसमा साथ दिँदै आउनुभएको छ। तपाईंहरूले आ–आफ्नो पार्टीमा पनि पहल बढाउनुस् र संघीयता कार्यान्वयन प्रभावकारी बनाउऔं,’ प्रधानमन्त्रीले भने,‘सरकारले संघीयतासम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको छ। तर, त्यसको अन्तिम फैसला संसदले गर्नुपर्छ। त्यसैले अहिले संघर्षका कार्यक्रमलाई थाँती राखेर थप पहलमा केन्द्रित होऔं।’

प्रधानमन्त्रीको आग्रहलाई आफूहरूले सकारात्मक रूपमा लिएको मुख्यमन्त्री यादवले बताए।

संघीय व्यवस्था कार्यान्वयनमा आएको आठ वर्ष बितिसक्दा पनि संविधानमा उल्लेख भएबमोजिम अझै प्रहरी समायोजन हुनसकेको छैन।

मधेस प्रदेस सरकारले लामो समयदेखि प्रहरी समायोजन प्रक्रिया टुंग्याउन निरन्तर संघीय सरकारलाई दबाब दिँदै आइरहेको छ।

प्रहरी समायोजन प्रक्रिया टुंग्याउन संघीय सरकारले चासो नदिएको भन्दै मधेस प्रदेसका मुख्यमन्त्री, मन्त्री र राजनीतिक दलहरूले एक महिनाको अल्टिमेटम दिँदै माइतीघरमा धर्ना बस्ने चेतावनी दिएको छ।

 

Tags: