post-slider post-slider

नेपाल–भारत संयुक्त आयोगको बैठक : चार सम्झौतापत्रमा हस्ताक्षर

Image
A A

काठमाडौं- नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा चारवटा सम्झौता भएका छन्।

बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा होटल याक एन्ड यतीमा बसेको बैठकमा चारवटा सम्झौताहरू भएका हुन्।

संयुक्त आयोगको बैठकमा १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्नेसम्बन्धी विद्युत सम्झौता, सामुदायिक विकास परियोजनामा सहयोग गर्नेसम्बन्धी सम्झौता, नेपालले बनाएको स्याटलाइट भारतले प्रक्षेपण गर्नेसम्बन्धी सम्झौता र नवीकरणीय ऊर्जाको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौता भएको हो।

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

संयुक्त आयोगको बैठकमा नेपाल–भारतबीचको आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति, राजनीतिकलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर बिहीबार काठमाडौं आएका हुन्।

बैठकअघि उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

विदेशमन्त्री जयशंकरको शुक्रबार मध्याह्न १२ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 

Tags: