कांग्रेस मधेस प्रदेसको सम्मेलनको तयारी पूरा
जनकपुरधाम- नेपाली कांग्रेस मधेस प्रदेस प्रदेसको प्रथम सम्मेलन बिहीबार हुँदैछ।
जनकपुरधामस्थित तिरहुतिया गाछीमा सम्मेलनको उद्घाटनसत्र हुन लागेको हो।
कांग्रेस मधेस प्रदेसका सभापति कृष्ण यादवले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए।
सम्मेलनको उदघाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने उनले बताए।
प्रदेस सभापति यादवका अनुसार सम्मेलनको उदघाटन कार्यक्रममा सहभागी हुन पार्टी सभापति देउवासहित केन्द्रीय समितिका पदाधिकारीहरुलाई निमन्त्रणा पठाइएको छ।
सभापति देउवालगायतका पदाधिकारीहरु बिहीबार बिहानै जनकपुरधाम आउने कार्यक्रम तय भएको यादवले जानकारी दिए।
प्रदेस सभापति यादवले केन्द्रीय समितिका पदाधिकारीसहित नेता शेखर कोइरालालाई पनि सम्मेलनको उदघाटनसत्रमा सहभागी हुन निमन्त्रणा पठाइएको बताए।
कांग्रेससभित्र बरियताको विषयलाई लिएर असन्तुष्टि चुलिएको बताइएको छ। संस्थापनइतरका नेताहरुले कोइरालाई वरिष्ठ नेताको आधारमा विशिष्ट अतिथिको रुपमा बोलाउनुपर्ने बताएका छन्।
प्रदेस सभापति यादवले पार्टी पदाधिकारीको वरियता तोक्ने जिम्मेवारी केन्द्रीय समितिको रहेको जिकिर गरे।
‘नेताको वरियता प्रदेस समितिले नभएर केन्द्रीय समितिले तोक्ने हो। सम्मेलनमा सहभागी हुन नेता शेखर कोइरालालाई मैले आफैं निमन्त्रणा पठाएको छु,’ सभापति यादवले भने,‘उहाँ भोलि आउनुहुन्छ, उदघाटन कार्यक्रममा पनि सहभागी हुनुहुन्छ।’
प्रदेस समिति गठन भएयता पहिलोपटक हुन लागेको सम्मेलनलाई कांंग्रेसका नेताहरुले ऐतिहासिक बताएका छन्।
सम्मेलनमा पार्टीको नीति, विचार, आगामी कार्यदिशालगायतका विषयमा गहन छलफल हुने उनीहरुको भनाइ छ।
प्रदेस सभापति यादवले प्रदेस समिति गठन भएपछि पहिलोपटक हुन लागेको सम्मेलनलाई ऐतिहासिक बनाउने उद्देश्यका साथ योजना तयार पारिएको बताए।
उनकाअनुसार सम्मेलनको उदघाटन कार्यक्रममा पार्टी सभापति देउवाका साथै उपसभापतिद्वय पूर्णबहादुुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारी सहभागी हुनेछन्।
तिरहुतिया गाछीमा हुने उदघाटन कार्यक्रमपछि शुक्रबार महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानमा बन्दसत्र हुने उनले जानकारी दिए।
सम्मेलनको बन्दसत्रमा ८२५ जना प्रदेस प्रतिनिधिहरुले भाग लिने बताइएको छ।
यसअघि प्रदेस समितिको बैठकले सम्मेलनमा प्रस्तुत हुने राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ।