post-slider post-slider

‘अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवद्र्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यक्ता छ’

Image
A A

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताएका छन्।

भारतको कोलकत्तामा बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्चको विशेष सत्रलाई सम्बोधन गर्दै ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्ग जस्ता पूर्वाधारको आवश्यकता रहेको बताएका हुन्।

हवाइ तथा डिजिटल कनेक्टिभिटी बढाउन, विद्यमान कनेक्टिभिटी पूर्वाधारमा सुधार गर्न र नयाँ पूर्वाधारहरु निर्माण गर्न बिमस्टेकमा रहेका देशहरुले संयुक्त रूपमा लगानी गर्न आवश्यक रहेको उनले बताए।

सहज ढुवानीका लागि सडक तथा बन्दरगाह जस्ता भौतिक पूर्वाधारको वृद्धि गर्नु आवश्यक रहेको बताउँदै उनले क्षेत्रीय मूल्य श्रृङ्खलाको विकासमा सहयोग पुर्‍याउन पूर्वाधारको विकास र स्तरोन्नति गर्न संयुक्त प्रयास गर्न सकिने बताए।

‘ऊर्जासँग सम्बन्धित पूर्वाधारको विकास र ऊर्जा व्यापारसहित क्रसबोर्डर ऊर्जा सहयोग प्रवर्द्धनले क्षेत्रीय मूल्य श्रृङ्खलाहरूमा बढी मात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगहरूको विकासलाई सहयोग पुग्न सक्छ,’  ढकालले भने।

कनेक्टिभिटी पूर्वाधारका अतिरिक्त, बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैर–भन्सार अवरोधहरू हटाउन र घटाउनु आवश्यक रहेको उनले बताए।

‘बिमस्टेक राष्ट्रहरूले क्षेत्रीय मूल्य श्रृङ्खलाका लागि अनुकूल वातावरण सिर्जना गर्न आफ्नो व्यापार र लगानी नीतिहरू सहज र सरल बनाउन सक्छन्।

भन्सार प्रक्रियालाई सरल बनाउने, नीति नियमहरु सरल बनाउने र लगानी सहजीकरणका उपायहरु प्रवद्र्धन गर्ने जस्ता विषयहरु यसमा समावेश गर्न सकिन्छ। ‘यस क्षेत्रको स्वतन्त्र व्यापार व्यवस्थाले सदस्य राष्ट्रहरूबीचको द्विपक्षीय र बहुपक्षीय व्यापार बढाउन सहज बनाउन सक्छ। नेपालले आफ्नो निर्यातमा लाग्ने कर हटाउने वा घटाएकोमा फाइदा लिन सक्छ, जसले गर्दा व्यापारको मात्रा बढ्छ र निर्यात आधारमा विविधिकरण हुन्छ,’ उनले भने।

उनले क्षेत्रीय कनेक्टिभिटी र व्यापार सम्झौताले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न पनि मद्दत गर्ने बताए।

'बिमस्टेक राष्ट्रहरुबीचको राम्रो कनेक्टिभिटी र व्यापार व्यवस्थाले एफडीआईलाई आकर्षित गर्न मद्दत गर्नेछ । बजार पहुँच सुधार गर्न तथा व्यापार अवरोधहरू कम गर्न सकेमा विदेशी कम्पनीहरूलाई अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ, जसले बिमस्टेक देशहरूमा आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नेछ,’ उनले भने।

महासंघका अध्यक्ष समेत रहेका ढकालले बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्न बिमस्टेक बिजनेस फोरम गठन गर्न सकिने बताए।

Tags: