post-slider post-slider

आज टीका : कतिखेर लगाउने?

Image
A A

काठमाडौं- आज विजया दशमी, अर्थात दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनकोे हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतिीक जमरा लगाइँदैछ।

दसैं घर वा पूजाकोठामा ९ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।

टीक प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता छ।

आज बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।

आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीक, जमरा थापेर मनाइन्छ।

आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रूपमा मनाइने विजयादशमी बडा दसैंको सबैभन्दा महत्वपूर्ण दिन हो।

त्रेता युगमा आजैका दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजयप्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरू गरिएको धार्मिक विश्वास छ।

त्यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ। आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट यश, ऐश्र्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिइन्छ।

 

 

Tags: