post-slider post-slider

सुदूरपश्चिम प्रदेशको बजेट मध्य राति बहुमतले पारित

Image
A A

धनगढी- सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०-८१ को बजेट बहुमतले पारित भएको छ। गए राति बसेको प्रदेश सभाको बैठकले बहुमतबाट बजेट पारित गरेको हो।

सभामुख भीमबहादुर भण्डारीले आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए। यसै गरी, सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष  २०८०-८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि बहुमतले पारित भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने बैठकमा सहभागिता जनाएन। अर्को प्रतिपक्षी दलबाट राप्रपाका खेमादेवी विष्टको उपस्थिति रहेको थियो। उनले बजेटको विपक्षमा आफ्नो मत जाहेर गरेकी थिइन्।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेश सभा सचिवालयमा दर्ता गर्नु भएको खर्च कटौतीको प्रस्ताव निष्क्रिय भएको छ। प्रदेश सभा बैठकमा उनी अनुपस्थित भएको र अन्य कसैमार्फत प्रस्ताव प्रदेश सभा बैठकमा पेस नगरेकाले सभामुख भण्डारीले सो प्रस्ताव निष्क्रिय भएको सदनलाई जानकारी दिए। 

प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको अनुमानित बजेट ल्याएको छ। चालुतर्फ नौ अर्ब ५९ करोड ६० लाख (३२.७९ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख (५८.१६ प्रतिशत) बजेट विनियोजन गरिएको छ। यसै गरी, अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ दुई अर्ब ३४ करोड ७५ लाख (८.०२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३० करोड (१.०३ प्रतिशत) बजेट विनियोजन भएको छ।  

Tags: