post-slider post-slider

युक्रेनको हवाइ आक्रमणबाट रूसी युद्धपोतमा क्षति

Image
A A

काठमाडौं- रूसले आफ्नो एउटा युद्धपोत युक्रेनी आक्रमणमा परेर ब्ल्याक सीस्थित एउटा बन्दरगाहमा क्षति भएको पुष्टि गरेको छ।

युक्रेनले मंगलबार बिहान रूसको अधीनमा रहेको क्राइमियाको फिओदोसियामा हवाइ आक्रमण गरेको थियो।

क्राइमिया अन्तर्राष्ट्रिय रूपमा युक्रेनी भूभागको मान्यता पाएको क्षेत्र हो। तर, सन् २०१४ मा रूसले कब्जा गरेयता त्यो मस्कोको नियन्त्रणमा छ।

रूसी रक्षा मन्त्रालयका अनुसार युक्रेनी विमानबाट नोभचेर्कास्क युद्धपोतलाई लक्षित गरी क्रुज क्षेप्यास्त्र प्रहार गरिएको थियो।

त्यसअघि युक्रेनी वायुसेनाका प्रमुखले आफ्ना लडाकु विमानहरूले उक्त पानीजहाजलाई ध्वस्त पारेको दाबी गरेको छ।

रूसले क्राइमियामा प्रमुख नियुक्त गरेका सर्गेइ अक्योनोभले हमलाका क्रममा एक व्यक्तिको मृत्यु भएको जनाएका छन्। अन्य दुई जना घाइते भएको बताइएको छ।

उनले ६ वटा भवनहरू नष्ट भएको र त्यसपछि केही मानिसहरूलाई अस्थायी आवास केन्द्रहरूमा राखिएको जनाए।

अहिले उक्त बन्दरगाहमा सामान्य रूपमा यातायात सञ्चालन भइरहेको जनाइएको छ।

 

Tags: