post-slider post-slider

जनसांख्यिक लाभ लिन ढिलो गर्नुहुन्न : ‌ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा पलायन रोक्न सके मात्र जनसांख्यिक लाभ लिन सकिने बताएका छन्। मंगलबार जनसंख्या दिवसको अवसरमा सन्देश जारी गर्दै उनले युवा विदेश हुनुपर्ने बाध्यता हटाउन सके मात्र जनसांख्यिक लाभ लिन सकिने बताएका हुन्। 

ओलीले आफू सरकारमा रहँदा उद्योग स्थापना, उद्यमशीलता र रोजगारीमा ध्यान दिँदै कार्यक्रम ल्याए पनि राजनीतिक अस्थिरताका कारण ती कार्यक्रमबीचैमा अलपत्र पारिएको पनि आरोप लगाएका छन्।   

‘तीन दशकदेखि हाम्रो कमाउने उमेरको जनसंख्या वैदेशिक श्रम बजारमा पलायन भइरहेको तथ्याङ्क हामी देख्छौँ। यसलाई रोक्न हामीले सरकारमा रहँदा उद्योगको स्थापना, उद्यमशीलता र रोजगारीमा ध्यान दिँदै कार्यक्रम पनि ल्यायौँ। तर राजनीतिक अस्थिरताले त्यसलाई बीचैमा अलपत्र पार्ने अवस्था आयो,’ ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रा नवजवानहरूलाई परिवार र देश छोडेर पराइभूमिमा जानुपर्ने बाध्यता घटाउन सक्यौँ भने मात्र हामीले जनसांख्यिक लाभ पाउने छौँ।’  

ओलीले नेपालमा पालिनेभन्दा कमाउने उमेरको जनसंख्या बढी भएको भन्दै देशले त्यसको फाइदा लिनसक्नुपर्ने पनि उल्लेख गरेका छन्।  

‘एक दशक अघिसम्म हाम्रो देशमा सानो परिवार प्रमुख जनसांख्यिक मुद्दा थियो। अहिले हाम्रोमा १४ वर्षमुनिका बालबालिका (२७.८३ प्रतिशत) र ६० वर्ष माथिका ज्येष्ठ नागरिक (१०.२१ प्रतिशत) को तुलनामा १५ वर्षदेखि ५९ वर्षसम्मको (६१.०९ प्रतिशत) जनसंख्या बढी छ। पालिनुपर्ने उमेरको भन्दा कमाउने उमेरको जनसंख्या ठूलो हुनु हाम्रा लागि जनसांख्यिक लाभ हो,’ उनले भनेका छन्। 

 

Tags: