post-slider post-slider

प्रहरीमा ३० वर्ष सेवा अवधि आधारमा अवकाश नदिन सर्वोच्चको आदेश

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि पूरा गर्न लागेका प्रहरी अधिकृतहरूलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ।

बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले यस्तो आदेश जारी गरेको हो। ती अधिकृतहरू भदौ १६ गते ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका थिए।

प्रहरी ऐनमा विद्यमान ३० वर्षे सेवा अवधि छ। इजलासले यसअघि दिइएको निर्देशनात्मक आदेश पालना नभएको भन्दै विपक्षीलाई पन्ध्र दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना अधिकारीले आफूलाई ३० वर्षे सेवा अवधिका आधारमा १६ भदौमा अवकाशमा पठाउने तयारी रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

श्रेष्ठसहित ८९ जना प्रहरी अधिकृतले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका थिए।

यसैगरी, अदालतले असोज १० गते पूर्ण इजलासमा पेशीसमेत तोकेको छ। प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि हटाउन चर्को दबाब छ।

गृह मन्त्रालयले ३० वर्षे सेवा अवधि हटाउनेबारेको विधेयक प्रतिनिधिसभामा लैजान गृहकार्य गरिरहेको थियो।

Tags: