.png)

अर्थ मन्त्रालयको रिपोर्ट कार्ड : ६ महिनामा ५ अर्ब ५९ करोड राजश्व संकलन

काठमाडौं - चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो। प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि हो।
गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ।
आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ। जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो।
चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो। अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो।
पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भएको उल्लेख गर्दै लक्ष्य अनुरुप राजस्व संकलनमा केन्द्रित हुने बताए।
'हामी अहिले अर्थतन्त्र सुधारका लागि काम गरिरहेका छौं,' उनले भने, 'अर्थतन्त्र सुधारमा केही सकारात्मक नतिजा हासिल भइरहेका छन्।'
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले गत असोजको बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात प्रभावित, विद्युतीय सवारी साधनको आयात संख्या वृद्धि, दुरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा मागमा कमी लगायतले असर पारे तापनि चालु आर्थिक वर्षको ६ महिनामा उल्लेखनीय रुपमा राजस्व संकलन भएको बताए।
विगतमा दुई पटकको कोरोना महामारी, लडडाउनपछि नेपालको अर्थतन्त्र क्रमिक रूपमा संकुचित बन्दै गएको थियो।
अर्थतन्त्र धरासायी भएको स्थितिलाई मध्यनजर गर्दै मन्त्री पौडेलले सुधारका लागि आफ्नो कार्यकालको सुरुवातदेखि नै प्रयास जारी राखेको जनाएका छन्।
'अर्थतन्त्रका सूचकांकहरू मजबुत पार्न अर्थ मन्त्रालयले काम गरिरहेको छ, हामी प्रयत्नशील रहिरहेका छौं,' उनले भने।