post-slider post-slider

नितिश कुमार : पटक–पटक कित्ता परिवर्तन गरेर सत्तामा बसिरहने नेता

Image
A A

काठमाडौं- भारतको बिहार राज्यमा अप्रत्याशित रुपमा बदलिएको घटनाक्रमकाबीच मुख्यमन्त्री नितिश कुमारले आइतबार बिहान राजीनामा दिएर साँझ फेरि मुख्यमन्त्रीको सपथ लिए।

आइतबार बिहान ११ बजे उनी राजभवन पुगे र राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर राजीनामा सुम्पिए। साथै उनले गठबन्धनबाट बाहिरिएको घोषणा गरे।

पछिल्लो सातादेखि अगाडि बढिरहेको घटनाक्रमहरुबाट नितिश पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (राजद) सँग रहेको गठबन्धन तोडेर फेरि भारतीय जनता पार्टी (भाजपा) गठबन्धनमा आवद्ध हुनसक्ने अड्कलबाजी भइरहेको थियो।

नितिशले गठबन्धन फेरेसँगै उपमुख्यमन्त्रीसमेत रहेका राजद नेता तेजस्वी यादव सरकारबाट बाहिरिएका छन् भने बिहार सरकारमा एकपटक फेरि भाजपाको इन्ट्री भएको छ।

नितिश अगस्त २०२२ मा भाजपासँगको गठबन्धन तोडेर राजदसँग मिलेका थिए।

राजनीतिमा उनको यो पहिलो यू–टर्न भने होइन। त्यसैले त्यतिबेला न भाजपासँग गठबन्धन तोड्दा आश्चर्य भएको थियो न राजदसँग मिलेर सरकार नै बनाउँदा।

राजनीतिक जीवनमा यू–टर्न लिइरहनु र आफ्नो हितको राजनीति गर्नु नितिशका लागि पर्याय बनिसकेको छ।

नितिशको जन्म पटनानजिकै बख्तियारपुर जिल्लामा एक स्वतन्त्रता सेनानी परिवारमा १ मार्च १८५१ मा भएको थियो।

बिहार इन्जिनियरिङ कलेजबाट इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका उनको झुकाव सँधै राजनीतितर्फ रह्यो।

हुनत उनले राजनीतिको सुरुवात लालुप्रसाद यादव र जौर्ज फर्नान्डिसको छत्रछायामा गरे। तर, आफ्नो छुट्टै पहिचान स्थापित गर्न अलग हुनुपर्छ भनेर नितिशले बुझिसकेका थिए।

राजनीतिमा करिब पाँच दशक पूरा गरिसकेका नितिश आफ्नो सहुलियतको हिसाबले दल र गठबन्धन परिवर्तन गर्ने गरेका छन्।

उनले १९७४ देखि १९७७ का बीच जयप्रकाश नारायणको आन्दोलनमा भाग लिए। नितिशले सत्येन्द्रनारायण सिन्हा नेतृत्वको जनता पार्टीबाट राजनीति सुरु गरे।

उनी सन् १९८५ मा पहिलोपटक विधायक चुनिए। त्यतिबेला नितिश बिहारमा विपक्षमा रहेका लालुको सहयोगी थिए।

इमर्जेन्सीको विरोधमा उभिएको जनता दल विभाजित भयो। सन् १९८४ मा फर्नान्डिसले समता पार्टी गठन गरे। नितिश उनीसँगै लागे। अर्को वर्ष भएको विधानसभा निर्वाचनमा समता पार्टीले केवल ७ सिट जित्यो।

समता पार्टी एक्लै आफ्नो बलमा दह्रिलो गरी अगाडि बढ्न नसक्ने राजनीतिका चतुर खेलाडी नितिशले बुझिसकेका थिए।

सन् १९९६ मा उनी भाजपासँग गठबन्धन गरे। पहिलोपटक सन् १९८९ मा लोकसभा सदस्य बनेका नितिश १९९८ देखि २००१ सम्म अटलबिहारी वाजपेयी नेतृत्वको सरकार फरक फरक विभागका मन्त्री बने।

नितिश सन् २००१ देखि २००४ का बीच वाजपेयीको सरकारमा रेल्वे मन्त्री रहे।

यसबीचमा सन् २००० मा ३ मार्चदेखि १० मार्चसम्म नितिश बिहारका मुख्यमन्त्री पनि बने। 

सात दिनका लागि मात्रै मुख्यमन्त्री बने पनि उनले आफूलाई लालुप्रसादविरुद्ध एक मजबुत विकल्पका रुपमा पेस गरे।

२००४ सम्म केन्द्रमा मन्त्री रहेका उनी २००५ मा फेरि राज्यको राजनीतिमा फर्किए र मुख्यमन्त्री बने।

पछिल्लो १९ वर्षमा २०१४–१५ मा दस महिनाका लागि जितनराम माझीको कार्यकाललाई छोडिदिने हो भने बाँकी समय नितिश नै बिहारका मुख्यमन्त्रीमा आसिन रहे।

यस क्रममा उनले आफ्नो सहुलियतअनुसार गठबन्धन परिवर्तन गरिरहे।

१९९६ मा नितिशले भाजपासँग गठबन्धन गरे। र, यो गठबन्धन सन् २०१३ सम्म कायम रह्यो। नितिशले भाजपासँग मिलेर चुनाव लडे र बिहारको सत्तामा आफूलाई स्थापित गरे।

बिहारको राजनीतिमा भाजपा र नितिशको साथ १७ वर्षसम्म रह्यो।

सन् २०१४ मा भाजपाले नरेन्द्र मोदीलाई लोकसभा चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा घोषणा गरेपछि नितिशले बाटो फेरिदिए।

मोदीको विरोध गर्दै बिजेपी गठबन्धनबाट अलग्एिका नितिशले सन् २०१४ को चुनाव एक्लै लडे।

पछिल्लो लोकसभा चुनावमा २० सिट भएको उनको पार्टी जनता दल युनाइटेड (जदयु) मात्र दुई सिटमा सीमित भयो।

चुनावमा निराशाजनक परिणामपछि उनले राजद र कांग्रेस पार्टीसँग गठबन्धन गरे।

२०१५ मा नितिशले राजद र कांग्रेससँग महागठबन्धन बनाएर चुनाव लडे र गठबन्धनले भारी बहुमत प्राप्त ग¥यो। उनी फेरि एकपटक मुख्यमन्त्री बने र लालुका छोर तेजस्वी उपमुख्यमन्त्री।

यो महागठबन्धन दुई वर्षमात्रै चल्यो र नितिशले सन् २०१७ मा महागठबन्धनसँग नाता तोडिदिए। उनले भाजपासँग गठबन्धन गरेर सरकार बनाए र भाजपा नेता सुशील मोदी बने उनका उपमुख्यमन्त्री।

२०२० मा नितिशले भाजपासँग मिलेर विधानसभा चुनाव लडे र फेरि सत्तामा पुर्नागमन गरे। यद्यपि उनको दल जदयूले भाजपाभन्दा कम सिट प्राप्त गरेको थियो।

त्यो चुनावमा भाजपाले ७४ सिट प्राप्त गर्दा जदयूको ४३ सिटमात्रै थियो। विधानसभाको तेस्रो ठूलो दलका बाबजुद नितिश मुख्यमन्त्रीको कुर्सीमा बसिरहे।

गठबन्धनका मुख्यमन्त्री रहे पनि उनीमाथि बढी सिट भएको भाजपाको दबाब बढिरहेको थियो। 

भाजपासँग दुई वर्ष सरकार चलाइसकेपछि नितिशले फेरि गठबन्धन फेरे। र, राजद तथा कांग्रेससँग मिलेर सरकार बनाए।

अगस्त २०२२ मा फेरि मुख्यमन्त्री नितिश मुख्यमन्त्री बने र तेजस्वी उनको उपमुख्यमन्त्री।

यसपालि उनले भाजपाविरुद्ध कडा रुपमा प्रस्तुत भए। उनले राष्ट्रियस्तरमै भाजपाविरुद्ध विपक्षी पार्टीलाई एकजुट गरेर गठबन्धन बनाउने प्रयास गरे।

आफ्नो एकै कार्यकालमा पटक-पटक गरी राजीनामा दिँदै र सपथ लिँदै नितिश ९ औंपटक बिहारका मुख्यमन्त्री बनेका छन्

नितिशले सार्वजनिक रुपमै भनेका थिए,‘मर्न तयार छु, तर भाजपासँग मिल्नु स्वीकार्य छैन।’

नितिशले यो टिप्पणी ३० जनवरी २०२३ मा सञ्चारमाध्यमहरुमाझ गरेका थिए। यस्तो टिप्पणी गरेको एक वर्ष नबित्दै नितिश फेरि भाजपासँग हात मिलाइसकेका छन्।

 

Tags: