नेपाल–भारतबीच सात मुख्य सम्झौता
काठमाडौं- नेपाल र भारतबीच सातवटा मुख्य सम्झौता भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा बिहीबार द्विपक्षीय सम्झौता भएको हो।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच ‘वन टु वन’ वार्ता र त्यसपछि भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलनमार्फत सहमति सार्वजनिक भएको छ।
दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत सम्झौताबारे जानकारी दिएका हुन्।
नेपाल–भारत पारवहन सम्झौता नवीकरण, सिमापार पेट्रोलियम पाइपलाइन अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पु¥याउने सहमति भएको छ।
त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषमा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरूणको पिडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ।
६६९ मेगावाट क्षमताको तल्ला अरूणबाट नेपालले १४०.४९ मेगावाट बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पिडिए) भएको हो।
भारतीय कम्पनी सतलज जलविद्युत निगम ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको छ।
यस्तै गोखरपुर–बुटवल ४ सय केभी प्रसारण लाइन बनाउनसमेत नेपाल र भारतबीच सम्झौता भएको छ। यसको निर्माणका लागि विद्युत प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुनेछ।
यसको लागत ४ अर्ब ६२ करोड भारतीय रूपैयाँ हुनेछ।
कूटनीतिक क्षेत्रमा सहकार्यका लागि समेत सम्झौता भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले बथनाहा–विराटनगर कार्गो रेलको संयुक्त उदघाटन गरेका छन्।
यस्तै सुनवल र भैरहवामा बन्न लागेको आइपिसिपीको समेत उदघाटन भएको छ। भारतको रुपैडिया र नेपालगञ्जको आइसिपीको पनि उदघाटन भएको छ।
त्यस्तै डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ।