post-slider post-slider

गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० को मृत्यु

Image
A A

काठमाडौं- प्यालेस्टिनी क्षेत्र गाजास्थित अहली अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन्।

इजरायली आक्रमणबाट बच्नका लागि प्यालेस्टिनी नागरिकहरूले अस्पताललाई समेत आश्रयस्थलका रूपमा प्रयोग गर्दै आइरहेका थिए।

अस्पतालमा कार्यरत एक चिकित्सकले करिब चार हजार मानिसले त्यहाँ शरण लिएको बिबिसीलाई बताएका छन्।

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले अस्पतालमा भएको आक्रमणपछि तीन दिनको शोक घोषणा गरेका छन्।

हमासले आक्रमणलाई ‘युद्ध अपराध’ भन्दै इजरायलमाथि दोष लगाएको छ।

इजरायलले भने हमासलाई नै दोष लगाएको छ। इजरायलले आफ्नो सेनाको संलग्नतालाई अस्वीकार गर्दै अर्को ‘अर्को आतंकवादी समूह प्यालेस्टिनी इस्लामिक जिहाद’ ले प्रहार गरेको रकेट विस्फोट भएको बताएको छ।

गाजाको दोस्रो ठूलो लडाकु समूह प्यालेस्टिनी इस्लामिक जिहादले पनि जिम्मेवारी अस्विकार गरेको छ।

अन्तर्राष्ट्रिय नेताहरूले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन्।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्,‘डब्लुएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ। सुरूवाती विवरणअनुसार सयौं मानिस घाइते भएको र मृत्यु भएको संकेत छ। हामी तत्काल सर्वसाधारणको सुरक्षा र स्वास्थ्योपचारको माग गर्दछौं।’

जोर्डन, इजिप्टका नेताहरूले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हुने भनिएको शिखर वार्ता रद्द गरेका छन्।

अमेरिकी राष्ट्रपति बाइडेन युद्धमा होमिएको इजरायल भ्रमणमा पुग्दैछन्। गाजास्थित अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको बेला उनी इजरायल पुग्न लागेका हुन्।

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले गाजाको अस्पतालमा भएको आक्रमणपछाडि ‘नृशंस आतंकवादी’ को हात रहेको बताएका छन्।

संयुक्त राष्ट्रमा प्यालेस्टिनी अधिकारी रियाद मंसुरले भने प्रधानमन्त्री नेतन्याहूले झुटो बोलिरहेको दाबी गरेका छन्।

 

Tags: