post-slider post-slider

कात्तिक १ मा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

Image
A A

काठमाडौं- कोसी प्रदेसका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते विश्वासको मत लिने तयारी गरेका छन्।

कात्तिक १ गते बस्ने प्रदेससभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन्।

उनीनिकट स्रोतका अनुसार कात्तिक १ गते विश्वासको मत लिने गरी छलफल अगाडि बढाइएको छ।

असोज २७ गते  कोसी प्रदेसका आठौं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका सांसद कार्की नियुक्त भएका थिए।

उनलाई मुख्यमन्त्री बनाउन कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदले समर्थन गरेका थिए।

प्रदेस प्रमुख पर्शुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि उनी त्यसअगावै विश्वासको मत लिने तयारीमा छन्।

आइतबार सपथग्रहण गरेका कार्कीले कांग्रेसका एक र एमालेका एक गरी तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।

९३ सदस्यीय प्रदेससभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ। 

उनलाई मुख्यमन्त्री बनाउन दाबीपत्रमा हस्ताक्षर गरेका कांग्रेसका ८ र एमालेका ३९ सांसदलेमात्रै समर्थन गरे पनि सहजै विश्वासको मत प्राप्त गर्न सक्ने देखिन्छ।

कांग्रेससहितको चार दलीय गठबन्धनको निर्णयविरूद्ध कार्कीले विद्रोह गरी कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

गठबन्धन दलहरूले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेका थिए।

विद्रोह गरेर कार्की कोसीको मुख्यमन्त्री नियुक्त भएपछि केन्द्रमा समेत गठबन्धनको समीकरण फेरिन सकिने धेरैको आकलन छ।

यद्यपि गठबन्धन दलका कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरू कोसीमा अगाडि बढेको राजनीतिक घटनाक्रमले अहिलेको गठबन्धनमा केही फरक नपर्ने दाबी गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच शनिबार भएको छलफलमा गठबन्धनप्रति दृढ रहेको थप सुदृढ बनाउने लिखित सहमति भएको छ।

तीन नेताबीचको यो सहमतिपछि विश्वासको मत लिँदा कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले गठबन्धनमा आवद्ध माओवादी र कांग्रेसका साथै नेकपा(एकीकृत समाजवादी) र जसपाको मतसमेत पाउने सम्भावना बढेको छ।

 

Tags: