post-slider post-slider

छुटेका कक्षा बिदाका दिन, राहत शिक्षक आन्दोलनमै

Image
A A

काठमाडौं-नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ।

महासंघले शनिबार विज्ञप्ति जारी गरेर छुटेका कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको हो।

नेपाल सरकारसँग शुक्रबार भएको ६ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासंघले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ।

आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै काठमाडौं बाहिरबाट आएका शिक्षक फर्कन थालेका छन्।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्ट जनाउँदै महासंघले यही असोज ३, ४ र ५ गते काठमाडौंमा आन्दोलन गरेको थियो।

असोज ३ गते सार्वजनिक बिदा परे पनि दुई दिनको पढाइ अवरूद्ध भएको थियो।

यता सरकार र महासंघबीच भएको ६ बुँदे सहमतिपछि शिक्षकहरू विभाजित भएका छन्।

सहमतिप्रति राहत दरबन्दीका शिक्षकहरू असन्तुष्टि जनाएका छन्। असन्तुष्ट बनेका राहत शिक्षकहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

शिक्षक महासंघ र केही संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।

सरकारसँग भएको सहमतिमा राहत शिक्षकको मागलाई समावेश नगरिएको भन्दै आफूहरूले आन्दोलनलाई निरन्तरता दिने राहत शिक्षकहरूले जनाएका छन्।

२०७५ सालभन्दा अघिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाइ नगरेको उनीहरूको भनाइ छ।

सरकारसँगको वार्ताका क्रममा आफ्ना माग अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरूलाई स्वीकार्य नभएको उनीहरूले बताएका छन्।

वार्ताका क्रममा आफूहरूलाई गृहमन्त्रीले दुव्र्यवहार गरेको उनीहरूले आरोप लगाएका छन्।

आफ्ना माग पूरा नभएसम्म राहत शिक्षकहरूले विद्यालय नफर्कने र आन्दोलन जारी राख्ने बताएका छन्।

 

Tags: