post-slider post-slider

गृह र अर्थमन्त्रीको राजीनामा मागिरहेका सुनिल शर्माको गिरफ्तारी संयोगमात्रै हो?

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो बढी सुन तस्करी प्रकरणमा चर्को आवाज उठाउने सत्तारुढ दलका सांसदहरूमध्ये एक थिए– डा.सुनिल शर्मा।

नेपाली कांग्रेसका सांसद शर्मा सुन तस्करी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतलाई सुरूदेखि निशाना बनाइरहेका थिए।

गृह र अर्थमन्त्रीको संलग्नताविना विमानस्थलबाट यति धेरै ठूलो परिमाणमा सुन तस्करी सम्भव नभएको दाबी शर्माले गरेका थिए।

यो प्रकरणको निश्पक्ष छानबिनका लागि गृहमन्त्री र अर्थमन्त्री दुवैले राजीनामा गर्नुपर्ने उनको माग थियो। शर्माले संसदमै गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा माग गरेका थिए।

गृह र अर्थमन्त्रीले राजीनामा नदिए आफू संसद परिसरभित्रै अनशन बस्ने चेतावनीसमेत शर्माले दिएका थिए।

प्रतिपक्षी दलले सुनतस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहँदा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्ने शर्मा सत्तारुढ दलका तर्फबाट एक्लो सांसद हुन्।

सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीको राजीनामा माग गरिरहेकै बेला सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार पक्राउ गरेको छ।

शैक्षिक प्रमाणपत्र गडबड गरेको मुद्दामा शर्मालाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। 

शर्माले १९९६ मा आइएससी उतीर्ण गरेका छन्। र, ३० वर्षअघि उनले उतीर्ण गरेको भनिएको आइएससीको शैक्षिक प्रमाणपत्रमा गडबडी देखिएको बताइएको छ।

सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीलाई निरन्तर निशाना बनाइरहेका शर्मा ३० वर्षअघिको शैक्षिक प्रमाणपत्रलाई लिएर पक्राउ पर्नु संयोगमात्रै हो? भनेर प्रश्न उठिरहेको छ।

मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माको ३० वर्ष पुरानो शैक्षिक प्रमाणपत्र छानबिनको दायरामा नआउनु तर सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीलाई निशाना बनाइरहँदा पक्राउ पर्नुले यस्तो आशंका उब्जिएको हो।

कांग्रेस नेता अर्जुननरसिंह केसीले शर्माको गिरफ्तारीलाई लिएर ‘सुन तस्करहरूलाई प्रोत्साहन गरेको त होइन?’ भन्ने आशंका व्यक्त गरेका छन्।

‘भारतको बिडिबिकेएस कलेजबाट १९९६ मा आएस्सी उतीर्ण गरेको प्रमाणपत्रबारेको छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्षअघि नै अनुसन्धान सुरू ग¥यो र छाड्यो, त्यही केसमा हाल आएर सिआइबी ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा लेखेका छन्,‘संसदमा सुन तस्करी काण्डविरूद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेकै कारण यो प्रकरण पुनः युद्धस्तरमा तातेको हो? या संयोगमात्रै हो? यो गम्भीर र आम चासोको विषय बनेको छ।’

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शर्मा पक्राउबारे सभामुख र सिआइबीबाट जानकारी लिएपछि पार्टीको धारणा सार्वजनिक गर्ने बताए।

तर, कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले शर्मा पक्राउ परेपछि सामाजिक सञ्जालमा सरकारको नियतमाथि प्रश्न गरेका छन्।

‘केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सिआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो?,’ सिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्,‘...कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्।’

गत मंसिरमा भएको निर्वाचनमा शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य भएका हुन्।

शर्माले मोरङमा यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका थिए।

निर्वाचन क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र विपन्न स्थानीयलाई आफ्नो अस्पतालमा निःशुल्क तथा सहुलियत उपचार सेवा दिएका कारण लोकप्रिय बनेका शर्मा एमालेका भानुभक्त ढकाल र राप्रपाकी रेखा थापालाई पराजित गर्दै फराकिलो मतान्तरले निर्वाचित भएका थिए।

उनी काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजसहित विभिन्न शैक्षिक संस्थाका सञ्चालक पनि हुन्। शर्माले आफू चीनबाट एमबिबिएस उतीर्ण गरेको बताउने गरेका छन्।

दुई साताअघि शर्माले प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीमाथि प्रश्न उठाएका थिए।

उनले भनेका थिए,‘अहिलेको अर्थमन्त्री र अहिलेको गृहमन्त्रीले कि भन्न सक्नुपथ्र्यो हामीले भरियामात्रै होइन, मूल दोषी सुनको मालिकलाई पक्राउ ग¥यौं भन्न सक्नुपथ्र्यो। कि समय लिएर सात दिनभित्र यसको नाइके पक्राउ गर्न सक्छौं भन्न सक्नुप¥यो। नभए यो अनुसन्धानको प्रक्रियालाई सहज बनाउनको निम्ति सुनको मालिक पक्राउ नहुँदासम्म राजीनामा गरेर यो प्रजातान्त्रिक अभ्यासलाई कदर गर्नुपर्छ।’

शर्मा पक्राउ परेकोबारे सिआइबीले बिहीबार नै प्रतिनिधिसभाका सभामुखलाई जानकारी दिँदै पत्र पठाएको छ।

सिआइबी प्रमुखद्वारा हस्ताक्षरित जानकारी पत्रमा नेपाल मेडिकल काउन्सिलबाट ‘कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्रहरू पेस गरी काउन्सिलमा दर्ता भएको पाइएकाले कानुनबमोजिम गरी पाउँ’ भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जनाइएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा प्रेषित उक्त जानकारी पत्रमा राष्ट्रिय परीक्षा बोर्ड, सोनाठिमी, भक्तपुरबाट ‘सुनिलकुमार शर्माको कैफियतमा अपुष्टित भनी लेखि आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसुरमा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले’ पक्राउ गरेको उल्लेख छ।

संविधानको धारा १०३ ले बहालवाला सांसदलाई संसदको अधिवेशन चलिरहेको समयमा फौजदारी अपराधको अनुसन्धानका लागि पक्राउ गर्न सक्ने अधिकार दिएको छ।

त्यसरी पक्राउ गर्दा प्रहरीले त्यसको सूचना सम्बन्धित सभाको अध्यक्षलाई दिनुपर्ने व्यवस्था छ।

 

Tags: