छोरीका आँखामा भूपी
काठमाडौं- कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ। काठमाडौंको म्यारियट होटलमा मंगलबार आयोजित एक विशेष कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी एवम् लेखक कविता शेरचनले पुस्तक लोकार्पण गरे।
लोकार्पण कार्यक्रममा सुरुमा पत्रकार एवम् लेखक देवेन्द्र भट्टराईले लेखक कविता शेरचनसँग संवादसमेत गरे। संवादमा शेरचनले आफ्ना पिता भूपीका विषयमा आम रुपमा प्रचलित कतिपय धारणा एवम् वास्तविकताबारे प्रकाश पारिन्। र पुस्तक लेखनको औचित्यसमेत प्रस्ट्याइन्।
‘मलाई एकदुई कक्षा पढ्दा भूपी शेरचनकी छोरी हुँ भन्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो,’ रक्सी पिएको विषयमा आफ्ना बाबुको बढी आलोचना भएको सम्झिँदै उनले भनिन्, ‘तर चारपाँच कक्षा पढ्ने बेलासम्म मेरो स्कुलका शिक्षकदेखि समाजका लब्धप्रतिष्ठित व्यक्ति सबै म त तिम्रो बुबाको ठूलो फ्यान हुँ नि भन्दै आएपछि उहाँको छोरी हुँ भनेर चिनिनमा गर्व लाग्न थाल्यो।’
आफ्नो घरमा जति पनि मानिस आउँथे, उनीहरु सबै भूपीका प्रशंसक भएको देखेपछि त झनै बुबाको महत्ता आफूले झनै बढी बुझेको उनको भनाइ छ। ‘तर समाजमा बुबालाई एउटा असल कविका रुपमा मात्र नबुझेर जँड्याहाका रुपमा प्रस्तुत गर्दा भने मलाई अति पीडा दिन्थ्यो,’ उनले भनिन्, ‘बुबाको विषयमा जति विषय बाहिर आएका कतिपय भने बुबाले लेखेको कविता जस्तै हल्लैहल्लामा आएका छन्।’
कार्यक्रममा भूपीका विषयमा प्राध्यापक अभि सुवेदीले पनि धारणा राखे। कवि भूपी शेरचनका विषयमा यसरी पुस्तक आउला भनेर नसोचेको र त्यो पनि अंग्रेजीमा आउँदा आफू थप चकित परेको उनले बताए। ‘भूपी दाइलाई रक्सीसँग जोडेर जति लेखियो, त्यो चाहिनेभन्दा बढी थियो भन्ने मलाई लाग्छ,’ उनले भने, ‘यो समाजमा रक्सी नखाने को छ ? यस विषयमा भूपी दाइलाई अलि बढी नै नकारात्मक रुपमा प्रस्तुत गरिनु हुन्नथ्यो भन्ने मलाई लाग्छ।’
भूपीले आफ्नो समयमा देशको अवस्था र मानिसहरुको वास्तविकतालाई जीवन्त रुपमा कवितामा उतार्ने गरेको सन्दर्भलाई पनि प्राध्यापक सुवेदीले जोडे। साथै उनैकी छोरीले लेखेको यस पुस्तकले आफूले बुझेका बुबा र समाजले चिनेका बुबाका सन्दर्भलाई बडो राम्रोसँग प्रस्तुत गरेको उनले जनाए।
कृषि वैज्ञानिक तीर्थबहादुर श्रेष्ठले पनि कार्यक्रममा भूपीबारे रोचक प्रसंग सुनाए। नेपाल प्रज्ञा प्रतिष्ठानमा सँगसँगै प्राज्ञ हुँदाका सन्दर्भदेखि भूपीले लेख्ने गरेका कविताका विषयमा उनले चर्चा गरे। आफूलाई नेपालीमा लेख्न प्रेरित गर्ने व्यक्तित्व पनि भूपी नै रहेको उनले जनाए। ‘म विज्ञानको विद्यार्थी, रिपोर्ट आदि विषय अंग्रेजीमै लेख्नुपर्ने, नभए साइन्स नहुने,’ उनले भने, ‘तर भूपीजीले आफूले अध्ययनअनुसन्धान गरेका विषय नेपालीमा पनि लेख्नुस् भनेपछि म नेपाली भाषामा लेखरचना लेख्नतिर लागेको हुँ।’
पुस्तकमा कविता शेरचनले आफूले चिनेका बुबा, उनले भोगेको समाज, उनलाई लागेका लाञ्छना आदिलाई सूक्ष्म किसिमले प्रस्तुत गरेको पनि श्रेष्ठले बताए। ‘पुस्तकमा आमा नहुनुको पीडा मात्र देखाइएको छैन,’ श्रेष्ठले भने, ‘आमाटोकुवाका रुपमा आफूलाई लाञ्छना लाग्दा भूपी विक्षिप्त बनेका आदि विषयलाई पनि बडो मार्मिक रुपमा प्रस्तुत गरिएको छ।’
पुस्तकलाई ढाका टोपी जसरी बुनिएको श्रेष्ठले जनाए। ‘कविरुपी भूपीका सन्दर्भलाई तानरुपी शब्दले रोचक रुपमा जोडिएको छ,’ उनले भने। एउटी छोरीले आफ्ना बाबुलाई तटस्थ रहेर प्रस्तुत गरेको पनि उनले बताए। अन्धविश्वास र विकृतिलाई छाडेर अगाडि बढ्नुपर्छ भन्ने सन्देशसमेत पुस्तकले दिएको श्रेष्ठले जनाए।
कार्यक्रममा भूपीपत्नी कान्ति शेरचनले पनि विगत सम्झिइन्। भूपीले जुनसुकै रचना लेखिसकेपछि आफूलाई सुनाउने गरेको उनले बताइन्। साथै भूपीको निधन भएको ३५ वर्षपछि आफ्नी छोरीले बाबुलाई सम्झिएर यति सुन्दर पुस्तक लेखेकामा आफूलाई गौरवबोध भएको पनि उनको भनाइ छ। ‘भूपीजीका विषयमा छोरीले यसरी पुस्तक लेख्दा मलाई साह्रै खुसी लागेको छ,’ उनले भनिन्।
कार्यक्रममा फाइनप्रिन्टका नीरज भारीले सर्वकालीन कवि भूपी शेरचनका विषयमा लेखिएको यति गहन कृति प्रकाशन गर्न पाउँदा आफूहरुलाई अति खुसी लागेको बताए।