post-slider post-slider

भारतीय बलरसामु धारासायी इंग्ल्यान्ड, भारतको लगातार छौठौं जित

Image
A A

काठमाडौं- डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले जारी विश्वकपमा आफ्नो पराजयको सिलसिलालाई विराम दिन फेरि पनि असफल भएको छ।

आइतबार भारतसँग सय रनको अन्तरले पराजित भएर इंग्ल्यान्ड पाचौं म्याचमा पराजित भएको हो।

२३० रनको झिनो लक्ष्य पछ्याएको इंग्ल्यान्ड भारतको घातक बलिङसामु निरीह रह्यो।

एकपछि अर्को गरी ब्याटरहरू आउट हुँदै गएपछि इंग्ल्यान्ड १२९ रनमै सीमित भयो।

इंग्ल्यान्डका ब्याटरहरू भारतका बलरले गरेको घातक बलिङसामु निरीह देखिए।

२३० रन पछ्याएको इंग्ल्यान्ड सबै विकेट गुमाएर ३४.५ ओभरमा मात्र १२९ रन बनाउनसक्यो।

इंग्ल्यान्डलाई पराजित गरेसँगै जारी विश्वकपमा यो भारतको लगातार छैठौं जित हो।

इंग्ल्यान्डका लागि लियम लिविङ्सट्नले सर्वाधिक २७ रन बनाए। ओपनिङका लागि आएका जौनी बेयरस्टौले १४ र डेविड मलानले १६ रनमात्रै जोड्नसके।

त्यस्तै जोय रूट र बेन स्टोक्सन शून्य रनमा आउट हुँदा कप्तान जौस बटलर १०, मोइन अली १५, क्रिस वोक्स १०, डेभिड विली १६, आदिल रसिद १३ र मार्क वुड शून्य रनमा आउट भए।

भारतका लागि मोहम्मद सामीले ४, जसप्रित बुमराहले ३, कुलदीप यादवले २ र रवीन्द्र जडेजाले १ विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतको सुरूवात पनि खराब भयो। सुरूवाती क्रममै ओपनर शुभमन गिल, विराट कोहली र श्रेयस अय्यर आउट भएपछि भारतीय टिम दबाबमा परेको थियो।

कप्तान रोहित शर्मा र केएल राहुलले गरेको धैर्यपूर्ण साझेदारीका कारण भारत सम्मानजनक स्कोरसम्म पुग्यो।

रोहितले १०१ बलमा ८७ रन बनाउँदा राहुल ३९ रन बनाएर आउट भए।

रोहित र राहुल आउट भएपछि फेरि दबाबमा परेको भारतको इनिङलाई सूर्यकुमार यादवले सम्हाले। सूर्यकुमारले ४७ बलमा ४९ रनको योगदान दिए।

गिलले ९, विराट शून्य र अय्यर ४ रन बनाएर आउट भए। त्यस्तै रवीन्द्र जडेजाले ८, जसप्रित बुमराहले १६, कुदलीप यादवले ९ र मोहम्मद सामीले १ रन जोडे।

इंग्ल्यान्डविरूद्धको जितसँगै विश्वकपको अंकतालिकामा भारत शीर्ष स्थानमा पुगेको छ।

 

Tags: