आजदेखि छठ पर्व सुरू
जनकपुरधाम- अराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व आजदेखि सुरू भएको छ। चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आजदेखि सुरू भएको हो।
मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ। यसलाई ‘नहाय–खाय’ पनि भन्ने गरिन्छ।
‘नहाय–खाय’ का दिन ब्रताुलहरू नुहाइधुआइगरी चोखो कुरा खाने गर्छन्। ब्रतालुहरू आजकै दिनदेखि लसुन, प्याजजस्ता खाने कुरा बार्ने गर्छन्। शुद्धताको विशेष ध्यान दिइने पर्वको रूपमा समेत चिनिएको छठमा ब्रतालुहरू आजकै दिनदेखि चोखो भएर बस्ने गर्छन्।
ब्रतालुहरू आजकै दिनदेखि माछामासु, लसुन, प्याज, कोदो, मसुरलगायतका वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्न थाल्छन्।
दोस्रो दिन शनिबार छठ पर्वको मुख्य विधिमध्येको खरना हुनेछ। खरनालाई पापको क्षय पनि भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको अरिपणले भूमि सुशोभित गरी ब्रतालु दिनभर निर्जला ब्रत बस्छन्।
खरानाका दिन ब्रतालुहरू बिहानैदेखि ब्रतबसी साँझको समयमा सफासुग्घर घरमा पूजा गर्ने गर्छन्।
सख्खरको खीर, मुला, मिठाइलगायतका सामग्री खरनाको प्रसादका रूपमा चढाइन्छ। ब्रतालुहरू खरना पूजापछि यही प्रसाद ग्रहण गरेर उदाउँदो सूर्यलाई अघ्र्य नदिउन्जेल निराहार ब्रत बस्नुपर्ने हुन्छ।
तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने विधि गरिन्छ।
गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटेर विभिन्न प्रसाद सामग्री तयार पारिन्छ।
छठ पर्वमा अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढकना, माटोको हात्ती ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य लोकगीत गाउँदै पूजाका लागि जलासयमा पुग्ने गर्छन्।
पूजन सामग्रीहरूजलासय किनारमा राख्नुअघि ब्रतालुहरू त्यो ठाउँलाई पाँचपटक साष्टङ्क दण्डवत गर्छन्।
अघ्र्य दिने ठाउँलाई परिवारका सदस्यले पहिले नै सरसफाइ गरिसकेका हुन्छन्।
यो पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने विश्वास रहेको छ।
सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो। सूर्य उपासनालाई परम्पराको मोहक पद्धति मानिएको छ।
रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना गर्ने गरेका थिए। उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरु मानेका थिए।
वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो। वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगतको प्राणीसित सम्बद्ध भएको बताइएको छ।
छठ पर्व कृषि संस्कृतिमा पनि आधारित रहेको छ।
संस्कृतिविद् एवं वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल छठ पर्वमा प्रयोग हुने पूजन सामग्री स्थानीय किसानका उत्पादन भएकाले कृषि संस्कृतिसँग जोडेर हेर्छन्।
छठ पर्व मुलतः मिथिलाको कृषि संस्कृतिको प्रतीकसमेत रहेको उनको भनाइ छ।
यो पर्वमा धनी, गरीब, उचिनिचनको भेदभावलाई छोडेर सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा अर्चनाका लागि उभिन्छन्, जसलाई समन्वय र परस्पर सद्भावतर्फ उन्मुख हुने प्रेरणात्मक संकेत मानिन्छ।