post-slider post-slider

भिजिट भिसाको नक्कली कागजात प्रकरण : अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

Image
A A

काठमाडौं- किर्ते कागज बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो रहेको आरोपमा प्रहरीले विमानस्थल अध्यागमनका अधिकृतलाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृत नरवीर खड्कालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताएका छन्।

प्रहरीले नेपाल वायुसेवा निगममा कार्यरत तीन अधिकृतलाई पनि यो घटनामा पक्राउ गरेको छ।

निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव, विश्वनाथ कोइराला र होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिएको हो।

किर्ते कागजात प्रकरणमा यसअघि नक्कली कागजात तयार गर्ने समूह, कन्सल्टेन्सी सञ्चालक र ट्राभल एजेन्सी सञ्चालकहरू पनि पक्राउ परेका थिए।

यो प्रकरणमा हालसम्म ३२ जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले संकलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अनुसन्धान कार्यालयले अनुसन्धान सुरू गरेको थियो।

यो प्रकरणमा ९ जनाविरूद्ध संगठित अपराधमा र लिखतसम्बन्धी कसुरमा १२ जनाविरूद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै ८ जना धरौटीमा रिहा भएका छन्।

पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरूमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन्।

त्यस्तै एडभान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका छन्।

भिजिट भिसामा प्रयोग भएका कागजपत्र तथा भिसासमेत नक्कली रहेको पाइएपछि त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शंकास्पद कागजपत्र र पासपोर्ट बरामद गरी अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो।

 

Tags: