post-slider post-slider

रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता

Image
A A

काठमाडौं (एजेन्सी)- फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन्।

गत महिना नै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले मंगलबार औपचारिक सम्झौता गरेको हो।

यसअघि उनले मंगलबार नै मेडिकल समेत गरेका थिए। रियल म्याड्रिडले एम्बाप्पेलाई आफ्नो स्टेडियममा फ्यानहरूसमक्ष प्रस्तुत गरेको छ।

२५ वर्षीय एम्बाप्पे फ्रि-ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन्। एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन्।

पिएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ।

यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्नेछन्। उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन्।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरे पनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ।  रियल म्याड्रिड एम्बाप्पेलाई पछिल्लो सात वर्षदेखि भित्र्याउने प्रयासमा रहेको थियो। 

२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए। अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन्।

पिएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन्। त्यस्तै, २०१९-२० सिजनमा पिएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो।

Tags: