.png)

काठमाडौं अदालतले रविलाई पठायो हिरासत, भोलि फेरि बयान

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरीमा लगिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनलाई प्रहरी हिरासतमा लगिएको हो।
अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिए पनि थुनछेक बहस सुरू नभएपछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको हो।
अदालत खुल्नुअगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरूमा नै बयान दिन सुरू गरेका थिए।
अदालतले कास्की जिल्ला अदालतमा जस्तै धरौटी मागेमा उनी छुट्नेछन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो।
तर, थुनछेक बहस नसकिएकाले उनले कम्तिमा एकदिन हिरासतमा बस्नुपर्ने भएको हो।
कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए।
जिल्ला प्रहरी कास्कीको हिरासतवाट मुक्त भए पनि शुक्रबार राति मात्रै काठमाडौं आइपुगेका कारण उनी सो दिन अदालतमा हाजिर हुन सकेनन्।
अहिले अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी रहेकाले बयान लिइएको थियो।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी दालतमा हाजिर भएका थिए।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।
अब लामिछाने सोमबार पनि छुट्छन् कि छुट्दैनन् भन्ने आशंका छ।