post-slider post-slider

राम मन्दिर उदघाटन : जनकपुरधामबाट २० बोगीको रेल अयोध्या जाँदै

Image
A A

काठमाडौं- राम मन्दिर उदघाटन एवं प्राणप्रतिष्ठाको अवसरमा श्रद्धालुलाई लिएर जनकपुरधामबाट भारतको अयोध्यासम्म रेल जाने भएको छ।

नेपाल रेल्वे कम्पनीको पहलमा आइतबार जनकपुरधामबाट अयोध्याका लागि रेल जान लागेको हो।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले अयोध्यामा राम मन्दिरको उदघाटन एवं प्राणप्रतिष्ठालाई दृष्टिगत गरी जनकपुरधामबाट ‘विशेष’ रेल जान लागेको बताए।

उनकाअनुसार जनकपुरधामबाट अयोध्यासम्म जाने श्रद्धालुका लागि भारतले २० बोगीको रेल उपलब्ध गराउने भएको छ।

राम मन्दिरको उदघाटनको अवसरमा ध्वजाबाहक नेपाली रेल वा भारतबाट २० बोगीको रेल अयोध्या पठाउन अनुमति माग्दै नेपाल रेल्वे कम्पनीले पुस ६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको थियो।

शुक्रबार परराष्ट्र मन्त्रालयले यस विषयमा भारतीय दूतावासलाई पत्राचार गरेको थियो। दूतावासले तत्काल चासो देखाउँदै भारतीय रेल्वेको २० बोगीको रेल जनकपुरधामबाट अयोध्यासम्म पठाउन अनुमति दिएको छ।

महाप्रबन्धक झाले भारतीय रेल्वेको तर्फबाट जनकपुरधामदेखि राम जन्मभूमि अयोध्यासम्म श्रद्धालु लग्न भारतीय रेल्वेले २० बोगीको रेल उपलब्ध गराउने पत्र शनिबार आफूहरूलाई प्राप्त भएको बताए।

‘राम मन्दिर उदघाटनको अवसरमा जनकपुरधामबाट श्रद्धालुलाई अयोध्यासम्म लग्न भारतीय रेल्वेले २० बोगीको रेल उपलब्ध गराउने पत्र आजै १२ बजे हामीलाई प्राप्त भएको छ,’ उनले भने,‘यो महत्वपूर्ण घडीमा नेपालको तर्फबाट उपस्थिति जरूरी भएकाले हामीले पहल गरेका हौं।’

१ हजार ४ सय यात्रु क्षमता रहेको रेलको टिकट बुकिङ शनिबार अपराह्न ४ बजेदेखि सुरू हुने उनले जानकारी दिए।

झाले स्लीपर, फस्र्ट एसी, सेकेन्ड एसी र थर्ड एसी सुविधासहितको रेलको अयोध्यासम्मको भाडादर भारतबाट निर्धारण भएर आएसँगै बुकिङ सुरू गरिने बताए।

मन्दिरको उदघाटन एक युगमा एकपटकमात्रै हुने भएकाले नेपाल रेल्वेको प्रयासबाट जनकपुरधामदेखि अयोध्यासम्म जाने रेलसेवाको फाइदा लिन उनले सबैलाई आग्रह गरेका छन्।

 

Tags: