post-slider post-slider

हुम्लालाई छुट्टै मुलुक हो झैँ विकासमा विभेद गरिनु हुँदैन : कांग्रेस नेता विष्ट

Image
A A

हुम्ला- नेपाली कांग्रेसका नेता आनन्द विष्टले सरकार हुम्लाको विकासमा केन्द्रित हुनुपर्ने बताएका छन्। कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत हुम्ला पुगेका नेपाल–अमेरिका जन सम्पर्क समितिका अध्यक्षसमेत रहेका नेता विष्टले हुम्लावासी जनताले अहिले पनि सामान्य सुविधासमेत पाउन सक्ने अवस्था नहुनु दुखद भएको बताएका छन्।

'यहाँ शिक्षाको समस्या छ। स्वास्थ्यको समस्या छ। बाटोघाटोको समस्या छ। यातायातको समस्या छ। गर्भवतीलाई समयमै अस्पताल पुर्‍याउन सक्ने अवस्था छैन। समयमा जनताले आयोडिन नुनसमेत पाउँदैनन्। नेपाल सरकारलाई म जुम्ला, हुम्ला, बाजुरा जस्ता दुर्गम क्षेत्रको विकासमा केन्द्रित हुन आग्रह गर्दछु,' उनले भने। राज्यबाट सामान्य आधारभूत आवश्यकता समेत पाउन नसक्नुले जनताको नैसर्गिक अधिकार हनन भएको भान भएको उनी बताउँछन्।

'काठमाडौं वा सुगमलाई मात्र राज्यले हेर्नु हुँदैन। दुर्गमका जनता पनि हाम्रै नागरिक हुन्। त्यो पनि हाम्रै भूमि हो ठानेर उनीहरूलाई राज्य भएको महसुस हुने गरी सरकारले काम गर्नुपर्छ। म कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पनि यही आग्रह गर्न चाहन्छु,' विष्टले भने।  कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विकास निर्माण र जनताका पक्षमा काम गरेर सरकार आफ्नो अभिभावक भएको आभास दिलाउन विष्टले आग्रह गरे।

'कर्णालीमा एउटा पनि नगरपालिका नभएको जिल्ला हुम्ला हो। यहाँका सात वटै पालिकाले दीर्घकालीन रणनीतिका साथ विकास निर्माणका काम अगाडि बढाउनुपर्छ। ४४ वडाका ५० हजार जनताले सुलभ रूपमा शिक्षा र स्वास्थ्य उपभोग गर्न पाउनुपर्छ। यहाँबाट निर्वाचित सांसदहरूले पनि हुम्लाको विकासका लागि सरकारलाई झकझक्याउनु पर्छ,' उनले भने। उनले खार्पुनाथलाई प्रसिद्ध तीर्थस्थलका रूपमा विकास गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको बताएका छन्।

यस्तै हुम्लाका सुन्दर हिमशृङ्खला पनि पर्यटकका आकर्षणका केन्द्रबिन्दु हुनसक्ने उनले बताए। 'यो पर्यटकहरू लागि भर्जिन एरिया हुनसक्छ। हामीले प्रचारप्रसार गर्न सक्यौं र पर्यटकको सुविधाका लागि राम्रा होटेलको व्यवस्था गर्न सक्यौ भने हुम्लाले पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्‍याउन सक्छ', उनले भने। तिब्बतसँग सीमा जोडिएको जिल्ला भएकाले हुम्लाको स्याउको ठूलो बजार क्षेत्र चीन हुनसक्ने विष्टको भनाइ छ। त्यसका लागि स्याउ खेतीमा लागि रहेका कृषकहरूलाई सरकारले प्रेरित गर्न सक्नुपर्ने बताएका छन्।

यार्सा र अन्य जडीबुटी निर्यात गरेर पनि हुम्लावासीहरूले राम्रो आम्दानी गर्न सक्ने उनले बताए। तर, १२ बजेसम्ममात्र हुम्लामा उडान भर्न पाउने विषय भने अवैज्ञानिक रहेको उनको भनाइ छ। 'हुम्लाको मौसम दिउँसो खुल्छ। तर, यहाँ १२ बजेसम्ममात्र उडान भर्न पाइँदो रहेछ। यसको दीर्घकालीन समाधान खोज्न म सरोकारवालाहरूसँग आग्रह गर्दछु', उनले भने।

फरक प्रस‌ंगमा बोल्दै विष्टले कांग्रेस जनताको पार्टी भएको र केही समय अलमलिए पनि अब कांग्रेसलाई अलमलिने छुट नरहेको बताएका छन्। 'हामीले युद्धमा रहेको देशलाई शान्ति पक्रियामा ल्याउनु थियो, त्यो कांग्रेसकै नेतृत्वमा सफल भयो। संविधान दिनु थियो त्यो पनि कांग्रेस नेतृत्वकै सरकारले दियो। सं‌घीयता पछि दुई पटक मुलुकमा निर्वाचन गराउन कांग्रेसले नै नेतृत्व गर्नुपर्‍यो। अप्ठ्यारो पर्दा सधैँ कांग्रेसले देशलाई काँधमा बोक्छ। र, फेरि पनि बोक्ने छ,' उनले भने।

चुनावको समयमा पार्टीभित्र भएका मतभेदलाई भुल्दै पार्टी र संगठन निर्माणमा जुट्न उनले आग्रह गरेका छन्। आउने निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गर्न अहिलेदेखि नै सबै नेता कार्यकर्ता जागरूक हुनुपर्ने उनको भनाइ छ।

Tags: