.png)

को-को जाँदैछन् प्रधानमन्त्रीसँग चीन?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबार चीन भ्रमणमा जाँदैछन्।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १७ गतेबाट हुने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्दै सो टोलीमा सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना रहने निर्णय गरेको थियो।
सरकारी खर्चमा चीन भ्रमणमा जानेहरू ३९ जना रहेका छन्, जसमा प्रधानमन्त्री, सांसद, सरकारी अधिकारीहरू रहेको जनाइएको छ।
चार दिने चिनको भ्रमण टोलीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा रहेका छन्।
त्यस्तै, सांसदहरू श्यामकुमार घिमिरे, लीलानाथ श्रेष्ठ, अर्जुननरसिंह केसी, विजुला रायमाझी, धीरेन्द्रप्रसाद महतो, रेखा शर्मा, सर्वेन्द्रनाथ सुक्ला, दीपक कार्की र रञ्जिता श्रेष्ठ रहेका छन्।
त्यस्तै, मुख्य सचिव एकनारायण अर्याल, अर्थसचिव रामप्रसाद घिमिरे, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील ज्ञवाली, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पद्मसुन्दर जोशी पनि हुनेछन्।
त्यस्तै, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, उत्तर पूर्वी एसिया महाशाखाका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, उपराष्ट्रमन्त्रीका स्वकीय उपसचिव कमल रावल, परराष्ट्रका अधिकृतहरू ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने र विनोद खनाल रहेका छन्।
त्यस्तै, प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य, परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंहलगायत पनि भ्रमण टोलीमा सहभागी रहने छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सोमबार चीनको राजधानी बेइजिङ पुग्नेछन्। भ्रमणको भोलिपल्ट मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता तथा चिनियाँ समकक्षी लीसँग औपचारिक वार्ता भने मंगलबार गर्नेछन्।
प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिइसकेको छ। प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ।
मंगलबारै नेपाल-चीनबीच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ, जसमध्ये एक बिआरआई परियोजना महत्वपूर्ण मानिएको छ।
चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई औपचारिक रूपमा जानकारी गराएका छन् भने चीन भ्रमणको एजेन्डा तय गर्नका लागि आइतबार मन्त्रिपरिषद् बैठकसमेत बसेको थियो।
चार दिने भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री ओली मंसीर २० गते स्वदेश फर्कने छन् ।