post-slider post-slider

ओली–प्रसाईं आमनेसामने

Image
A A

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेसम्बद्ध युवा संघले बिहीबार काठमाडौंमा प्रदर्शन गर्दैछ।
प्रसाईंको समूहले राजाको पक्षमा र युवा संघले त्यसको विरोधमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघका लागि काठमाडौंको तीनकुने र प्रसाईं समूहका लागि बल्खु क्षेत्र कार्यक्रमस्थल तोकिदिएको छ।

जिल्ला प्रशासनले तोकेको कार्यक्रमस्थलका लागि दुवै समूहले स्वीकृति जनाइसकेका छन्।

यसअघि दुवै समूहले माइतीघर मण्डलमा प्रदर्शन गर्ने तयारी गरे पनि जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ।

त्यस्तै पुल्चोकस्थित युएन हाउस र मन्त्री निवास क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालय ललितपुरले निषेधज्ञा जारी गरेको छ।

युवा संघ र प्रसाईं समूहले एकैदिन प्रदर्शन गर्न लागेपछि स्थानीय प्रशासनले काठमाडौंमा सुरक्षा सतर्कता अपाउने तयारी गरेको छ।

सुरक्षा निकाय र उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले सम्भावित जोखिम तथा चुनौतीहरूको विश्लेषण गरी सुरक्षा योजना गृह मन्त्रालयमा पठाएका छन्।

जसअनुसार आजको प्रदर्शनलाई मध्यनजर गरी गृहको निर्देशन एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा तीनवटै जिल्ला सम्मलित विशेष सुरक्षा योजना बनाइएको छ।

बिहीबार बिहानैदेखि संवेदनशील संरचनामा थप सुरक्षा बढाउने तयारी सुरक्षा संयन्त्रले गरेको छ।

निर्धारित क्षेत्र नाघेर बाहिर गए बल प्रयोग गरेर फर्काउने प्रशासन र सुरक्षा निकायको तयारी छ।

युवा संघ र प्रसाईं समूहको हुने भएपछि सुरक्षा संवेदनशीलतालाई हेरेर उपत्यकाका कतिपय विद्यालयहरूले बिदा दिएका छन्।

युवा संघले व्यवस्थाविरोधी गतिविधि र सरकारविरूद्ध विरोध प्रदर्शनको कार्यक्रम आह्वान गरेको छ भने प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एव नागरिक बचाउ महाअभियानबाट ‘बृहत् मुक्ति आन्दोलन’ नामक प्रदर्शन कार्यक्रम आह्वान गरेका छन्।

प्रसाईंले गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै राजतन्त्रको पक्षमा वकलात गरिरहेका छन्। 

यस्तै बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुलिरहेको भन्दै ऋण मिनाहा गर्नुपर्ने उनको माग छ।

 

Tags: