post-slider post-slider

नामिबियामाथि नेपालको रोमाञ्चक जित

Image
A A

काठमाडौं - नेपालले नामिबियामाथि जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० आई सिरिजमा शुक्रबार नेपालले नामिबियालाई पराजित गरेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो। यससँगै उक्त सिरिजमा नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो। 

अन्तिम ओभरमा नामिबियाका लागि जितका लागि १२ रन आवश्यक रहेकोमा करण केसीले शानदार बलिङ गर्दै एक विकेट लिएर ८ रन मात्र दिँदै नेपाललाई जित दिलाएका थिए।

नामिबियाका लागि जेजे स्मिथले सर्बाधिक ५० रन बनाएका थिए भने जान फ्राइलिंकले ३७, जान ग्रीनले २१, जेपी कोट्जेले २५ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए।   

यसअघि नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए। कुशलले ५५ रन बनाएका थिए।

त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए।

त्यसैगरी नामिबियाका बेन शिन्कोंगोले सर्बाधिक ३ विकेट लिएका थिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिएका थिए।

यो नेपालको यस सिरिजमा पहिलो जित हो। यो जितपछि नेपालको ३ खेलमा २ अंक रहेको छ। नामिबियाको भने ३ खेलमा ४ अंक रहेको छ।   

अब सिरिजको अर्को खेलमा शनिबार नेपालले नेदरल्याण्डसको सामना गर्ने छ।

 

Tags: