post-slider post-slider

३ सय बढी मिर्गौला तस्करी गर्ने डाक्टर पक्राउ

Image
A A

काठमाडौं- पाकिस्तानमा प्रहरीले अङ्ग तस्करीमा संलग्न एउटा गिरोहका ८ जनालाई पक्राउ गरेको छ।

प्रहरीले मानिसबाट मिर्गौला निकालेर तस्करी गर्ने गिरोहलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार फवाद मुख्तार नामक उक्त गिरोहका नाइकेले ३ सयभन्दा बढी मानिसबाट मिर्गौला निकालेर धेरै पैसा दिने बिरामीमा प्रत्यारोपण गरेको आरोप छ।

मुख्तार आफैं चिकित्सक भएको जनाइएको छ।

यसअघि उनी पाँचपटक अवैध रूपमा मिर्गौला निकालेर बेचेको आरोपमा पक्राउ परेका थिए। तर, प्रत्येकपटक जमानतमा रिहा भएका थिए।

उनको गिरोहमा मिर्गौला निकाल्दा कम्तीमा तीन जनाको मृत्यु भएको सरकारी अधिकारी अधिकारीहरू बताउँछन्।

यो गिरोह पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबभर र पाकिस्तान–नियन्त्रित कश्मीरमा पनि सक्रिय रहेको ठानिएको छ।

कसरी गरिन्थ्यो मिर्गौला प्रत्यारोपण?

मिर्गौला अवैध रूपमा निकालिने र प्रत्यारोपण गर्ने गरिएको पाइएको पञ्जाबका मुख्यमन्त्री मोहसिन नक्बीले बताएका छन्।

उनका अनुसार कतिपय अवस्थामा बिरामी स्वयंलाई प्रत्यारोपणबारे जानकारी हुँदैनथ्यो।

प्रत्यारोपण गर्दा मुख्तार आफूलाई शल्यक्रियाको काममा सघाउन गाडी बनाउने काम गर्ने एक मिस्त्री राख्ने गरेको बताइएको छ।

ती व्यक्तिको परिचय खुलाइएको छैन। तर, उनले अस्पतालबाट बिरामीहरूलाई लोभ्याएर मुख्तारको सम्पर्कमा पु¥याउने गरेका थिए।

नक्बीका अनुसार उक्त गिरोहले प्रत्यारोपण आवश्यक रहेका बिरामीलाई एक करोड रूपैयाँ लिएर एउटा मिर्गौला बेच्थ्यो।

‘हामीले पत्ता लगाएको कुराले हाम्रो मुटु काम्छ,’ पत्रकार सम्मेलनमा नक्बीले भने,‘यसबाहेक अरू पनि धेरै प्रत्यारोपण र अवैध शल्यक्रियाहरू भएका छन्। यीबारे चाहिँ हामीले पुष्टि गरेका छौं।’

कस्तो कारबाही हुन्छ?

पाकिस्तानमा सन् २०१० मा मानव अङ्गको व्यापारलाई अवैध बनाइएको थियो।

त्यस्तो गतिविधिमा संलग्न भएको पुष्टि भए १० वर्ष जेल र ठूलो जरिवाना हुन सक्छ।

चिकित्सक र दलालको मिलेमतोमा विदेशमा बस्ने मानिससँग ठूलो रकम लिएर मिर्गौला बेचबिखन गर्ने प्रवृत्ति रोक्ने उद्देश्यले यस्तो सजायको व्यवस्था गरिएको हो।

तर, मानिसहरू कम आयका कारण आर्थिक समस्यामा परेको हुनाले तथा कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले पाकिस्तानमा अङ्ग तस्करी बढेको देखिन्छ।

गत जनवरी महिनामा पञ्जाबमा प्रहरीले मिर्गौला चोरी र तस्करीमा सक्रिय एउटा गिरोह पत्ता लगाएको थियो।

त्यतिबेला प्रहरीले हराइरहेका एक १४ वर्षे बालकलाई एउटा भूमिगत प्रयोगशालामा मिर्गौला निकालिसकेको अवस्थामा फेला पारेको थियो।

त्यो गिरोहका ६ जना पक्राउ गरेका थिए। तर, शल्यक्रियामा संलग्न चिकित्सकबारे पत्ता लागेको थिएन।

ती बालकको बयानका आधारमा उनको मिर्गौला कुनै विदेशी बिरामीलाई बेचिएको अनुमान गरेको थियो।

 

Tags: