post-slider post-slider

नेपाल संवत र म्हः पूजा मनाइँदै

Image
A A

काठमाडौं- नेपाल संवत् १९४४ आज देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

राष्ट्रिय विभुति शंखधर साख्वाले वि.सं. ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवातको सुरूवात गराएका थिए।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो।

लिच्छवीकालका राजा राघवदेशको शासनकालबाट सुरू भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको बताइन्छ।

वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ।

नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा, भीमेश्वरलगायतका नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ।

गरीब जनताको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

२०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

आजैका दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा मनाउने गर्छन्।

यस वर्ष सोमबार र मंगलबार प्रतिपदा परेकाले भक्तपुरलगायत केही स्थानमा सोमबार नै नेपाल संवतको नयाँ वर्ष मनाइएको छ।

भक्तपुरमा आत्मपूजा पनि हिजो नै मनाइएको जनाइएको छ। भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो।

कतिपय नेवार समुदायले भने मंगलबार नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा मनाउँदै छन्।

 

Tags: