post-slider post-slider

आज प्रतिनिधिसभा बैठक बस्दै, दलहरूबीच अवरोध हटाउने सहमति जुट्ला?

Image
A A

काठमाडौं- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। संसद् बैठक साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन अवरुद्ध गर्दै आएको छ।

दलहरूबीच सहमति नजुटे पनि सचिवालयले भने हरेक दिन पुरानै कार्यसूची निकालेर बैठक बोलाउँदै आएको छ। 

सरकार सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरी छानबिन समिति गठन गर्न नसक्ने अडानमा छ। तर, एमाले भने समिति नबनेसम्म सदन चलाउन नदिने भन्दै बैठक अवरुद्ध गर्दै आएको छ। 

साउन १० गतेपछि बोलाइएको संसद् बैठक कहिले कार्यसूचीमा प्रवेश नगरी त कहिले सूचना टाँसेर स्थगन भएको छ।

साउन २३ गतेको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दिएको जवाफ एमालेले चित्त बुझाएको छैन। एमालेको बटमलाइन उच्चस्तरीय छानबिन समिति बन्नु पर्नेछ। यो बीचमा सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक छलफल गरेका छन्। 

सदन खुलाउन भन्दै सभामुख देवराज घिमिरेले पनि दलका नेता र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। तर, सहमति निस्किएको छैन।

आज पनि प्रधानमन्त्रीले सदन खुलाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। हिजो बोलाइएको बैठक एमाले अध्यक्ष ओलीले अस्वस्थ रहेको भन्दै उपस्थित हुन नसक्ने जनाएपछि आज ११ बजेका लागि बैठक बोलाइएको छ।

Tags: