post-slider post-slider

मंगोलियाविरूद्ध कीर्तिमानी जित

Image
A A

काठमाडौं- १९ औं एसियाली खलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितमा नेपालले बुधबार मंगोलियाविरूद्ध कीर्तिमानी जित हासिल गरेको छ।

नेपालले आफ्नो पहिलो खेलमा मंगोलियालाई २७३ रनले पराजित गरेर कीर्तिमान कायम गरेको हो।

पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो।

झोजियाङ युनिभर्सिटी टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाले टस जितेर नेपाललाई ब्याटिङका लागि निम्तो दिएको थियो।

नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनायो।

नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो।

बलिङतर्फ नेपालका करण केसी, अभिनासा बोहरा र सन्दीप लामिछानेले २ / २ तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।

यसअघि मंगोलियाविरूद्ध ब्याटिङ गर्दै कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे।

कुशलले ३४ बलमै शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाए। यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरको नाउँमा रहेको थियो।

उनीहरूले ३५ बलमा शतक बनाएका थिए।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धशतक बनाएका थिए।

कुशल मल्लले ५० बलमा अविजित १३७ तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए।

मल्लले यस क्रममा १२ छक्का र ८ चौका तथा ऐरीले ८ छक्का प्रहार गरे।

त्यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए।

नेपालले समूह चरणको अर्को खेल माल्दिभ्ससित खेल्नेछ।

 

Tags: