post-slider post-slider

पञ्चतत्वमा विलीन भए सुवास

Image
A A

काठमाडौं- संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बिहीबार पशुपतिको आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिएको हो।

नेम्वाङको पार्थिव शरीरमा उनका जेठा छोरा मिङ्सो र कान्छा छोरा सुहाङले दागबत्ती दिएका थिए।

उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताका साथै विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणहरू पुगेका थिए।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झन्डा र एमाले अध्यक्ष ओलीले पार्टीको झन्डा ओढाएर नेम्बाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेपाली सेनाको टुकडीले नेम्बाङको सम्मानमा तोपको सलामी दिएको थियो।

नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो। संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले कदरस्वरूप उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

त्यस्तै नेम्वाङको अन्त्येष्टि हुने दिन सरकारले देशभर शोक बिदा दिने निर्णयसमेत गरेको थियो।

विदेशमा रहेका दुई छोरा बुधबार नेपाल फर्किएपछि बिहीबार उनको अन्त्येष्टि गरिएको हो।

यसअघि नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको थियो।

उनको निजी निवास बालुवाटारबा सुरू भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो।

नेम्वाङले चार कार्यकाल संसदको नेतृत्व गरेका थिए।

गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भए।

सभामुखका रूपमा उनको पहिलो कार्यकाल २०६३ वैशाखदेखि २०६३ को माघसम्म थियो। दोस्रो कार्यकाल २०६३ माघदेखि २०६५ जेठसम्म रहेको थियो।

त्यो बेला उनी पुनस्थार्पित संसदको सभामुख बनेका थिए। तेस्रो र चौथो कार्यकाल उनले संविधानसभा अध्यक्षका रूपमा संसदको नेतृत्व गरेका थिए।

यो भूमिकामा उनी २०६५ साल साउनदेखि २०६९ जेठसम्म र २०७० फागुनदेखि २०७५ असोजसम्म रहे।

२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहँदा उनी कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री पनि बनेका थिए।

उनी सामान्य प्रशासन र स्थानीय विकासमन्त्री र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पनि बने।

त्यसअघि २०३४ सालदेखि नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका थिए।

नेपालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएपछि उनले प्रतिस्पर्धा गरेका सबै मुख्य निर्वाच्न जितेका छन्। केबल राष्ट्रपति निर्वाचनबाहेक।

२०४८ यता उनी दुईपटक राष्ट्रियसभामा निर्वाचित भ एभने २०५६ साल यताका पाँचवटै चुनावमा निर्वाचित भए।

२०५६ सालमा उनी संसदको लेखा समितिको सभापतिमा निर्वाचित भएका थिए।

गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी इलाम–२ बाट निर्वाचित भए।

नेम्वाङको राजनीतिक यात्रा विद्यार्थी युनियनबाट सुरू भएको थियो। उनी २०२९ सालमा अनेरास्ववियुबाट इलाम महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए।

 

Tags: