post-slider post-slider

हुम्लामा आफू बसेको होटलमा चिनियाँ पक्षबाट ड्रोन उडाइयो– निधि

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले हुम्लामा आफूहरू बसेको होटलमा चिनियाँ पक्षबाट ड्रोन उडाइएको दाबी गरेका छन्।

आफूहरू बसेको हुम्लाको हिल्सास्थित होटलमाथि चिनियाँ पक्षबाट ड्रोन उडाएर निगरानी गरिएको निधिले बताएका हुन्।

होटलमाथि यसरी ड्रोनका माध्यमबाट निगरानी गर्नु आपत्तिजनक भएको उनको भनाइ छ।

‘हामी २८ गते पुगेपछि ११ बजे रातितिर चिनियाँ पक्षबाट हामी बसेको होटलमाथि ड्रोन उडाइएको थियो। हाम्रो प्रहरीले फोनबाट सोध्दा, ए बुझ्छौं भने, अनि फिर्ता गरे। आपत्तिजनक,’ होटलअगाडिको तस्बिर साझा गर्दै निधिले सामजिक सञ्जालमा लेखेका छन्।

असोज २४ गते हुम्लाको सिमिकोट पुगेका पूर्वगृहमन्त्रीसमेत रहेका निधि करिब एक साता त्यहाँ बिताएका थिए।

उनले हुम्लामा चिनियाँ पक्षबाट नेपाली भूभाग अतिक्रमण गरिएको आरोपसमेत लगाएका छन्।

चीनले पिलर नम्बर ९(२) को फलामे बारको घेर र गेट बनाएको भन्दै त्यो बनाउन नमिल्ने निधिले बताएका छन्।

हुम्ला भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारी, सीमा सुरक्षामा खटिएका प्रहरी अधिकृत र अन्य सरकारी अधिकारीहरूसँग सीमा विवादबारे छलफलसमेत गरेका थिए।

हिल्साको सीमा क्षेत्रमा चीनको तर्फबाट नेपाली भूमिमा लगाइएका तारबार हटाएर सीमासम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लाग्नुपर्ने उनको भनाइ छ।

 

Tags: