post-slider post-slider

सात सांसदलाई विश्वासको मत दिन रोक्न उपेन्द्र यादव सर्वोच्चमा

Image
A A

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट निवेदन दिएका छन्।

आफ्नो पार्टीबाट फुटेर जनता समाजवादीमा मिसिएका सात जना सांसदविरूद्ध उनले सर्वोच्च अदालतमा आइतबार रिट दिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत लिने तयारी गरिरहँदा ती सांसदलाई सहभागी नगराउन माग गर्दै यादवले रिट दिएको सर्वोच्च प्रशासनले जनाएको छ।

जसपा नेपाल विभाजन भएर अशोक राईले जनता समाजवादी पार्टी गठन गर्दा सात सांसद उनीतिर गएका थिए।

यसअघि यादवले पार्टी विभाजन गैरकानुनी भन्दै सर्वोच्चमा रिट दएका थिए। दुबै पक्षलाई सर्वोच्चले जेठ ८ गते छलफलका लागि बोलाएको थियो।

पार्टी विभाजनबारेको रिटमाथि सुनुवाई नसकिँदै प्रधानमन्त्री दाहालले विश्वासको मत मागेपछि यादव पुन: सर्वोच्चमा गएका हुन्। ती सात सांसद सत्तापक्षमा छन्।

यादवको दलले भने दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

यादवले दिएको निवेदनको पेशी सोमबारका लागि तोकिएको छ।

यादव नेतृत्वको जसपा नेपालबाट विभाजित भएर वैशाख २३ गते राईले नयाँ दल दर्ता गरेका थिए।

Tags: