post-slider post-slider

बारम्बार भूकम्पको धक्का, अधिकांश मानिस घर बाहिर

Image
A A

काठमाडौं- धादिङको खरी आसपास केन्द्रविन्दु बनाएर आइतबार बिहान गएको भूकम्पपछि स्थानीयवासी त्रासमा देखिएका छन्।

बारम्बार भूकम्पको धक्का महसुस गरिएपछि स्थानीयवासीमा त्रास देखिएको हो।

भूकम्पपछि खरी खासपासको क्षेत्रमा विभिन्न ठाउँमा पहिरो गएको छ। खरी र मैदीमा कच्ची घर गोठ भत्एिका छन्।
यद्यपि भूकम्पका कारण मानवीय क्षति भने भएको छैन। 

भूकम्पको धक्का बारम्बार महसुस भइरहेको छ। त्यो क्षेत्रमा पाँचपटक भूकम्पको धक्का महसुस भएको स्थानीयहरूले जनाएका छन्।

बारम्बार धक्का महसुस हुन थालिएपछि मानिसहरू घर छाडेर खुला स्थानमा बसिरहेका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको खरीलाई केन्द्रविन्दु बनाएर बिहान ७ बजेर ३९ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो।

आठ वर्षअघि गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएको विनाशाकारी भूकम्पले ती परकम्प निम्त्याएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रकी प्रवक्ता मोनिका झले आइतबार गएको भूकम्पको ढाँचा हेर्दा गोरखा भूकम्पकै परकम्प देखिएको बताएकी छन्।

आइतबारको परकम्पबाट घरहरू चर्किएको र पहिरो गएको स्थानीय अधिकारी र जनप्रतिनिधिहरूले बताएका छन्।

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भूकम्पबाट माटोका घरहरू चर्किएको, रूखहरू ढलेको र केही स्थानमा पहिरो गएको बताए।

उनले मानवीय क्षतिबारे हालसम्म कुनै जानकारी नआएको उल्लेख गरे।

बुढिगण्डकी जलविद्युत आयोजनाका जलाशय निर्माणका लागि अधिग्रहण गरिएको क्षेत्रमा कैयौं पुराना घरहरू रहेको र त्यस्ता घरहरू भत्किएको ज्वालामुखी गाउँपालिका–५ का वडाध्यक्ष टंक काप्रीले जानकारी दिए।

बारम्बार परकम्प गइरहेका कारण मानिसहरू घरबाहिरै रहेको उनले बताए।

गोरखा आसपास किन जान्छ भूकम्प?

करिब चार करोड वर्षअघि इन्डियन र युरेसियन प्लेटहरू ठोक्किएर बनेको हिमालय पर्वतमालाहरू अवस्थित नेपालका लागि भूकम्प नौलो होइन।

२०७२ सालमा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।

त्यसपछि त्यो क्षेत्रमा हालसम्म करिब ५० हजारपटक भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद लोकविजय अधिकारी बताउँछन्।

तीमध्ये अधिकांश परकम्प रहेको उनको भनाइ छ।

‘गोरखा भूकम्पको सुरूदेखि नै र त्योभन्दा अघि पनि यो क्षेत्रमा बढी भूकम्प जाने गर्छ। त्यहाँको भौगर्भिक अवस्था र त्यहाँ जमिन मुनी पूर्वदेखि पश्चिमसम्म इन्डियन प्लेटहरू उत्तरतर्फ सरिरहेको अवस्था छ।गोरखा भूकम्प पश्चिममा सुरू भएर त्यसको ‘रप्चर’ पूर्वतर्फ गयो त्यही भएर बढी गतिविधि पश्चिममाभन्दा पूर्वतर्फ नै भयो र भइरहेको छ,’ उनी भन्छन्।

भूकम्पका कारण जमिन मुनी चिरा परेका चट्टानहरू सर्दैसर्दै तरङ्गका रूपमा फैलिएर जान्छन्। त्यसबाट सिर्जना भएको शक्ति परकम्पका माध्यमबाट बाहिरिने गरेको भूर्गविदहरू बताउँछन्।

गोरखाबाट पूर्वतर्फ सरेको उक्त भूकम्पीय गतिविधिका कारण हाल सिन्धुपाल्चोक, दोलखालगायत अति प्रभावित कतिपय जिल्लामा निरन्तर परकम्पहरू गइरहेको उनीहरूको भनाइ छ।

 

Tags: