नक्कली भुटानी शरणार्थी प्रकरण : जेठ ३१ मा आदेश आउने सम्भावना
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरूको सन्दर्भमा जिल्ला अदालतल काठमाडौंले जेठ ३१ गते आदेश गर्ने भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूलाई पुर्पक्षका लागि हिरासतमा राख्ने, धरौटी माग्ने वा साधारण तारिखमा रिहा गर्ने भन्नेबारे अदालतले जेठ ३१ गते आदेश गर्ने भएको हो।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै जेठ ३१ मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका छन्।
सुरूमा सरकारी वकिललाई दुई दिन बहसका लागि समय दिने छलफल भएको थियो।
टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले आफूहरूलाई पूरै एक दिन आवश्यक पर्ने भन्दै समय मागेका थिए।
त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका वकिल, आरोपितहरूका वकिलका लागि समय व्यवस्थापन गरिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरूविरूद्ध आइतबारदेखि जिल्ला अदालत काठमाडौंमा बहस सुरू भएको हो।
सुरूमा सरकारी वकिलले आरोपको पक्षमा बहस गरेका छन्। त्यसपछि जाहेरीकर्ताका कानुन व्यवसायीहरूले बहस गर्नेछन्।
सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीले बहस गरिसकेपछि आरोपितहरू पक्षका कानुन व्यवसायीको पालो आउनेछ।
दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले उनीहरूलाई थुनामै राख्ने, धरौटी माग्ने वा साधारण तारिखमा छाड्ने भन्नेबारे आदेश गर्नेछ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहदुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका व्यक्तिहरू पक्राउ परेका छन्।
यो प्रकरणमा पक्राउ परेका सबैलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।