post-slider post-slider

भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति

Image
A A

काठमाडौं - भारतले नेपालबाट थप १२ वटा जलविद्युत आयोजनाको २५१ मेगावाट विद्युत् खरिद गर्ने भएको छ।

यो सँगै नेपालबाट भारतमा निर्यात हुने विद्युत ९४१ मेगावाट पुगेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन्। उनले यसमा १० प्रतिशत थप हुनसक्ने बताए।

साथै, २५१ मेगावाट मध्ये १२५ मेगावाट बिहारको लागि र बाँकी हरियाणाका लागि रहेको घिसिङले जानकारी दिए। बिहारको लागि तीन वर्ष र हरियाणाको लागि पाँच वर्षको सम्झौता हुने उनले बताए।  कुलमानले प्रतियुनिट ५ रुपैयाँ ४५ पैसा भारुमा यो विद्युत बेच्ने सम्झौता भएको बताएका हुन्।   

भारतमा बिजुली निर्यात गर्ने आयोजनाको संख्या पनि २८ वटा पुग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोडको बिजुली निर्यात गरेको थियो भने अब यस वर्ष यो ३० अर्बसम्म पुग्नसक्ने घिसिङले जानकारी दिएका छन्।

प्राधिकरणले यो वर्ष आयातभन्दा बढी निर्यात गरेकाले खुद निर्यातकर्ता बनेको दाबी गर्दै आएको छ। सन् २०२१ को अक्टोबरमा नेपालले ३९ मेगावाटको विद्युत निर्यात अनुमति पाएको थियो। त्यसपछि भारतले पटक-पटक नयाँ आयोजनाको बिजुली निर्यातका लागि स्वीकृति दिएको छ।

पछिल्लो स्वीकृतिसँगै अब नेपाल विद्युत् प्राधिकरणलाई दशैँ-तिहारका समयमा बढी हुने बिजुली व्यवस्थापन गर्न सहज हुने भएको छ।

यो वर्षको जेठदेखि बंगलादेशमा पनि बिजुली निर्यात गर्ने तय भए पनि अहिलेसम्म सम्झौता भने हुनसकेको छैन।

Tags: