post-slider post-slider

देशभरका कानुन व्यवसायी आन्दोलनमा

Image
A A

काठमाडौं- देशभरका कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

मुद्दाका बहस पैरवी छाडेर कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

जिल्ला अदालत ललितपुरकी नायबसुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हातहालाहाल भएको घटनालाई लिएर कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

उपत्यकाका कानुन व्यवसायीहरूले जिल्ला अदालत ललितपुरमा विरोधसभा गरेका छन्।

त्यस्तै उपत्यका बाहिरका एकाइहरूमा पूर्वनिर्धारित कार्यक्रमअनुसार विरोधसभा गर्न नेपाल बार एसोसिएसनले सर्कुलर जारी गरेको छ।

न्यायपालिकामा रहेको विकृति, विसंगित, भ्रष्टाचारको विरोधमा देशभर प्रदर्शन गरिएको नेपाल बार एसोसिएसनले जनाएको छ। 

जिल्ला अदालत ललितपुरकी नायबसुब्बा तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने रिहा भए पनि आन्दोलनको कार्यक्रम यथावत रहेको नेपाल बारले जनाएको छ।

असार १३ गते जिल्ला अदालत ललितपुरका नासु तामाङमाथि अधिवक्ता लामिछानेले हातपात गरेको भन्दै आइतबार देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरूप तीन घन्टा पेनडाउन गरेका थिए।

नेपाल बार एसोसिएसनले आदेशको नक्कल लिन जाँदा नासु तामाङले ‘घुस’ मागेको र त्यसको प्रतिवाद गर्दा उल्टै अधिवक्ता लामिछानेमाथि आक्रमण भएको दाबी गरेको छ।

कानुन व्यवसायीहरूले घटना भएको दिनको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेको छ। 

तर, जिल्ला अदालत ललितपुरले भने सिसिटिभी क्यामेरा बिग्रिएकोले फुटेज उपलब्ध गराउन नसकिने जनाएको छ।

नासु तामाङको जाहेरीपछि पक्राउ परेका अधिवक्ता लामिछानेको रिहाइको माग गर्दै आइतबार कानुन व्यवसायीहरूले जिल्ला अदालत ललितपुरअघि प्रदर्शन गरेका थिए।

लामिछानेको रिहाइको माग गर्दै सोमबार बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बसह पैरवी नगर्ने र विरोधसभा गर्ने कार्यक्रम नेपाल बारले सार्वजनिक गरेको छ।

यो विवाद बार र बेञ्ज तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार साँझ साधारण तारेखमा रिहा गरेको थियो।

 

Tags: