post-slider post-slider

कार्कीले आज विश्वासको मत लिँदै

Image
A A

काठमाडौं- कोसीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन्।

दिउँसो १ बजे बस्ने प्रदेससभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

नेपाली कांग्रेसका नेता शेखर कोइरालानिकट कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा कोसीको मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेस प्रमुख पर्शुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रावधान भए पनि कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन्।

२८ असोजमा कांग्रेसका शम्शेर राई र एमालेका रामबहादुर मगरलाई मन्त्री नियुक्त गर्दै कार्कीले मुख्यमन्त्री पदको सपथ लिएका थिए।

मुख्यमन्त्री पदको सपथ लिएको तीन दिनपछि उनले विश्वासको मत लिन लागेका हुन्।

९३ सदस्यीय प्रदेससभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ। 

उनलाई मुख्यमन्त्री बनाउन दाबीपत्रमा हस्ताक्षर गरेका कांग्रेसका ८ र एमालेका ३९ सांसदलेमात्रै समर्थन गरे पनि सहजै विश्वासको मत प्राप्त गर्न सक्ने देखिन्छ।

गठबन्धनको निर्णयविपरित विद्रोह गरेर मुख्यमन्त्री नियुक्त भए पनि कार्कीले पार्टीका तर्फबाट प्रदेससभामा प्रतिनिधित्व गर्ने सांसदहरूको विश्वासको मत पाउने निश्चित छ।

त्यस्तै गठबन्धनका घटक दल माओवादी केन्द्रले पनि कार्कीलाई विश्वासका मत दिने बताएको छ।

गठबन्धन दलहरूले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेका थिए।

विद्रोह गरेर कार्की कोसीको मुख्यमन्त्री नियुक्त भएपछि केन्द्रमा समेत गठबन्धनको समीकरण फेरिन सकिने धेरैको आकलन छ।

यद्यपि गठबन्धन दलका कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरू कोसीमा अगाडि बढेको राजनीतिक घटनाक्रमले अहिलेको गठबन्धनमा केही फरक नपर्ने दाबी गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच शनिबार भएको छलफलमा गठबन्धनप्रति दृढ रहेको थप सुदृढ बनाउने लिखित सहमति भएको छ।

 

Tags: