भारत–क्यानडा तनाव : ३८ वर्षअघि क्यानडाबाट उडेको भारतीय विमानमा कसले गराएको थियो बम विस्फोट?
काठमाडौं- भारत र क्यानडाबीचको सम्बन्धमा आएको चिसोपनाले सन् १९८५ मा एयर इन्डियाको विमानमा भएको घातक विस्फोटनको घटना सम्झाइदिएको छ।
गत साता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उनको देशले एक पृथकतावादी सिख नेताको हत्यासँग भारतको सम्बन्ध रहेको देखिने ‘विश्वसनीय आरोपहरू’ बारे छानबिन गरिरहेको बताएका छन्।
भारतभित्र छुट्टै खालिस्तान देश बनाउनुपर्ने मागको पैरवी गर्दै आएका हरदीपसिंह निज्जरको ब्रिटिस कोलम्बियामा गोली हानी हत्या भएको थियो।
भारतले ती आरोपहरूलाई ‘अर्थहीन’ भन्दै तिनको अन्डन गरेको छ।
त्यसयता भारतका कैयौं टिप्पणीकारहरूले सन् १९८५ को आक्रमणको विषय स्मरण गरेका छन्।
हमलामा परेको बोइङ ७४७ विमानको नाम प्राचीनकालका सम्राट कनिष्कको नामबाट राखिएको थियो। त्यो घटनालाई ‘कनिष्क विस्फोटन’ पनि भनिएको थियो।
त्यो घटनापछि पनि त्यतिखेर दिल्ली–ओटावाबीचको सम्बन्ध बिग्रिएको थियो।
१९८५ मा के भएको थियो?
सन् १९८५ को जुन २३ तारिख क्यानडाबाट लन्डन हुँदै भारत आइरहेको एयर इन्डियाको विमान फ्लाइट १८२ आयरल्यान्डको तटनिर आकाशमै विस्फोटन हुँदा त्यसमा सवार सबै ३२९ जनाको ज्यान गएको थियो।
उक्त विस्फोटनले एउटा सुटकेसमा लुकाइएको बमबाट भएको थियो। टिकट लिएका एक जनाले सुटकेस विमानमा पठाए तर आफू चढेनन्।
मारिनेमध्ये २६८ जना क्यानडाका नागरिक थिए। तीमध्ये अधिकांश भारतीय मूलका थिए भने अन्य २४ जना भारतीय नागरिक पनि थिए।
समुद्रबाट जम्मा १३१ शवमात्र निकाल्न सकिएको थियो।
त्यो विमान आकाशमै रहेको बखत जापानको राजधानी टोक्योस्थित नारिता विमानस्थलमा भएको अर्का विस्फोटनमा दुई जना ब्यागेज व्यवस्थापनमा संलग्न जापानी कर्मचारीको पनि ज्यान गयो।
पछि अनुसन्धानकर्ताहरूले उक्त विस्फोटन फ्लाई १८२ मा भएको आक्रमणसँग सम्बन्धित भएको बताए।
त्यो बमले बैंङकक उड्न लागेको एयर इन्डियाको अर्को उडानलाई लक्षित गरेको तर चाँडै विस्फोट भएको उनीहरूले बताए।
कसले गराएको थियो आक्रमण?
भारतीय सेनाले सन् १९८४ मा पञ्जाबस्थित स्वर्ण मन्दिरमा गरेको घातक हस्तक्षेपको प्रतिशोध लिन खालिस्तान राज्यको माग गर्ने सिख पृथकतावादीहरूले ती विस्फोटनको योजना बनाएको क्यानडाका अनुसन्धानकर्ताहरूले आरोप लगाएका थिए।
विमानमा भएको आक्रमणको केही महिनापछि रोयल कनेडियन माउन्टेड पोलिस (आरसिएमपी) ले हाल भारत र क्यानडामा प्रतिबन्धित बबर खाल्सा नामक उग्रवादी समूहका नाइके तल्विन्दर सिंह पर्मार र एक जना बिजुली बनाउने मानिस इन्दरजीत सिंह रेयातलाई हातहतियार, विस्फोटक पदार्थ एवं घातक षडयन्त्रका विभिन्न अभियोगमा गिरफ्तार गरेको थियो।
तर, पर्मारविरूद्ध मुद्दा कमजोर थिए र उनी रिहा भए। भारतले त्यतिखेर उनको सुपुर्दगीको माग गरेको थियो।
अहिले आएर अनुसन्धानकर्ताहरू पर्मार नै ती आक्रमणका मुख्य योजनाकार भएको ठान्छन्। उनलाई भारतमा प्रहरीले सन् १९९२ मा मारिदिएको थियो।
सन् २००० मा प्रहरीले भ्यान्कुभरका एक सम्पन्न व्यापारी रिपुदमन सिंह मालिक र ब्रिटिस कोलम्बियाका एक मिलका कामदार अजैब सिंह बाग्रीलाई आमहत्या तथा षडयन्त्रको अभियोगमा पक्राउ गरियो।
तर, सन् २००५ मा दुई वर्षसम्म चलेको र निकै खर्च भएको अदालती सुनुवाइपश्चात दुवै जनालाई सबै अभियोगबाट सफाइ दिइयो।
न्यायाधीशले ती दुई जनाविरूद्ध साक्षी बनेका मुख्य पात्रहरूको भनाइमा तथ्यगत त्रुटि रहेको अनि तिनका विश्वसनीयतामा प्रश्न उठेको ठहर गरेका थिए।
विमानलाई लक्ष्य बनाएर गरिएको विश्वको सबैभन्दा घातकमध्येको उक्त आतंककारी आक्रमणमा केवल रेयात दोषी ठहरिएका थिए।
जापानमा भएको विस्फोटनको मामिलामा उनलाई सन् १९९१ मा बेलायतमा १० वर्ष जेल सजाय भयो।
सन् २००३ मा क्यानडाको एउटा अदालतसामु उडान १८२ को विस्फोटनमा पनि आफ्नो दोष स्वीकारेपछि उनलाई थप पाँच वर्षको जेल सजाय सुनाइएको थियो।
पछि मलिक र बाग्रीको अदालती सुनुवाइको बेला ढाँटेको अभियोगमा उनलाई थप जेल सजाय सुनाइयो।
अनुसन्धानको आलोचना किन?
क्यानडाका अधिकारीहरूले उक्त आक्रमण रोक्न पर्याप्त काम गर्न नसकेको अनि अनुसन्धा पनि गतिलो गरी गर्न नसकेको आरोप खेप्नुपरेको छ।
मलिक र बाग्री रिहा भएकोमा मृतकका आफन्तहरूले आक्रोश व्यक्त गरेपछि क्यानडा सरकारले सन् २००६ मा त्यहाँको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अगुवाइमा विस्फोटनको छानबिन गर्ने एक सार्वजनिक छानबिन समिति गठन ग¥यो।
सन् २०१० मा उक्त समितिले ‘श्रृंखलाबद्ध गल्तीहरू’ का कारण ‘क्यानडाको इतिहासमै सबभन्दा ठूलो नरसंहार’ हुन पुगेको निष्कर्ष सुनायो।
परिचय नखुलाइएका एक साक्षीले हमला हुनुभन्दा महिनौंअगाडि नै क्यानडाका प्रहरीले विमानलाई तारो बनाइ विस्फोटन गराउने षडयन्त्र भइरहेको सुराक दिएको जानकारी उक्त समितिले पाएको थियो।
आक्रमण हुनुभन्दा केही साताअगाडि क्यानडाको गुप्तचर निकायका सदस्यहरूले पार्मर र रेयातलाई पछ्याउँदै जाँदा भ्यान्कुभर आइल्यान्डको एउटा जंगलमा कुनै ठूलो विस्फोटको आवाज सुनेका थिए।
तर, तिनले त्यसलाई महत्पूर्ण ठानेनन्।
सरकारी अभियोजनकर्तारूका मुख्य साक्षी ठानिएका दुई सिख पत्रकारहरूको सन् १९९० को दशकमा लन्डन र क्यानडामा भएका छुट्टाछुट्टै घटनामा हत्या गरियो।
तीमध्ये एक जना त त्योभन्दा अगाडि भएको एउटा गोलीकान्डमा घाइते भएकाले ह्विलचेयर प्रयोग गर्थे।
सन् २००० मा क्यानडाका एक पूर्वगुप्तचरले एउटा पत्रिकासँगको कुराकानीमा उनले सिख संदिग्धहरूसँग गरेको १५० घन्टा लामो कुराकानीको टेप आरसिएमपीलाई दिनुको साटो आफूले नष्ट गरिदिएको बताएका थिए।
आफ्ना सुराकीहरूको पहिचान खुल्ने डरले त्यसो गरेको उनले बताएका थिए।
त्यसपछि के भयो?
सन् २०१० मा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि क्यानडाका तत्कालीन प्रधानमन्त्री स्टीभन हार्परले पीडित आफन्तहरूसमक्ष सार्वजनिक माफी मागेका थिए।
उनीहरूले जवाफ मागेका उचित प्रश्नहरूप्रति वर्षौंसम्म प्रशासकीय बेवास्ता गरिएको उनले स्वीकारे।
सन् २०१६ मा उनलाई तोकिएको ९ वर्षको जेल सजायको दुईतिहाइ बिताइसकेका रेयातलाई क्यानडाको जेलबाट रिहा गरियो।
अर्को वर्ष उनलाई स्वतन्त्रतापूर्वक जहाँसुकै गएर बस्न स्वीकृति दिइयो, जसलाई केही विज्ञहरूले आलोचना गरे।
गत वर्ष रिपुपदमन सिंह मलिकको ब्रिटिस कोलम्बियाको सरेमा हत्या भयो।
प्रहरीका अनुसार उनलाई नै लक्ष्य गरी घातक आक्रमण गरिएको थियो।
हत्या आरोपमा दुई जना पुरुष पक्राउ परे। तर, तिनको उद्देश्य स्पष्ट भएन।
विमान विस्फोटनको ३८ औं वार्षिकी पारेर एङ्गस रीड इन्स्टिच्युटले यो वर्षको सुरूमा जारी गरेको एक अध्ययनले उक्त घटनालाई ‘क्यानडाको इतिहासमा थोरै मात्रै बुझ्न सकिएको’ घटना भनेको छ।
उसका अनुसार उक्त घटनाबारे प्रत्येक १० जना क्यानडेलीमध्ये ९ जनालाई थोरै थाहा भएको वा पटक्कै थाहा नभएको पाइएको छ।
भारतमा कस्तो प्रतिक्रिया?
एयर इन्डियाको विमानमा भएको विस्फोटनले भारतमा पीडादायक स्मरण बल्झिन्छ।
मारिएका अधिकांश मानिस क्यानडाका नागरिक भए पनि धेरै जना भारतीय मूलका थिए र उनीहरूका आफन्त भारतमा थिए।
यो मुद्दामा पीडितहरूलाई न्याय भएको छैन भन्ने धेरैलाई लाग्छ।
सन् २००६ मा क्यानडा वकिल रिचर्ड क्यान्स केही पीडितका आफन्तलाई भेट्न भारत गएका थिए।
उनले भारतमा रहेका परिवारहरूले आफूलाई न्यायप्रक्रियामै संलग्न नगराइएको अनुभूति गरेको आफूले पाएको बताएका थिए।
उनीहरूले मलिक र बाग्रीले पाएको सफाइको प्रक्रियामा पनि प्रश्न उठाएका थिए। (बिबिसीबाट)