post-slider post-slider

बारामा गोली प्रहार गरी भारतीय युवकको हत्या

Image
A A

वीगरगञ्ज- गोली प्रहारबाट बारामा एक भारतीय युवकको हत्या भएको छ। मंगलबार साँझ सवा ६ बजेको समयमा गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

हत्या हुनेमा मोतिहारी जिल्लाको दर्पा थाना-१, सुक्लहिया गाँउ बस्ने वर्ष २२ का अजितकुमार सिंह रहेका छन्।

नेपाल-भारत सीमाभन्दा करिब ७०० मिटर नेपालतर्फ बाराको पचरौता नगरपालिका-६ लक्ष्मिनियास्थित पोखरी नजिकै मोटरसाइकलमा आएका चारजना भारतीय नागरिकले नै उनको हत्या गरेका हुन्।

मृतक सिंहसँगै भारतको मोतिहारी जिल्ला, दर्पा थाना-१ सुक्लहिया बस्ने वर्ष २५ का सुजितकुमार सिंह, सोही स्थानका वर्ष २४ का चञ्चल पान्डे, वर्ष २२ का मनिष कुमार सहनी र वर्ष २० का कामेश्वर सहनी दुईवटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए।

पोखरी नजिक पुगेपश्चात सँगै एउटै बाइकमा पछाडि बसेका सुजितकुमार सिंहले मृतक सिंहलाई पछाडिबाट गोली प्रहार गरी सोही मोटरसाइकलमा भारततर्फ भागेर गएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

घटनास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरिएको उनले बताए। घटनास्थलको प्रारम्भिक अनुसन्धानपश्चात शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा थप अनुसन्धानको भइरहेको न्यौपानेले बताए।

Tags: