दैनिक दुई बोतल बियर पिउने दुई करोड पाँच लाखको भैंसी
पटना - बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैंसी आकर्षणको केन्द्र बनेको छ।
एक किसानले बनारसबाट मेलाका लागि भैंसी बिहार ल्याएका छन्। भैंसीको नाम राजा हो, जसको उमेर तीन वर्ष रहेको बताइएको छ।
तर, बिहारमा रक्सी पिउन नपाएका कारण सो भैसींको चमक घटेको राजाका मालिक बताउँछन्। जानकारीका अनुसार यो भैंसीले दैनिक दुई बोतल बियर पिउने गरेको छ।
भैंसी मुर्रा जातको हो। बिहारको सोनपुर मेलामा बिक्री गर्न उक्त भैंसी बनारसबाट ल्याइएको हो। बिहारमा ल्याइकन यो भैंसीले धेरै समस्या झेलिरहेको छ। किनभने बिहारमा रक्सी निषेध गरिएको छ। यसबारे भैंसीका मालिकले बियर नपाउँदा भैंसीको चर्को चमक घटेको बताउँछन्। जसका कारण भैंसी अलिकति सुस्त देखिन्छ।
भैंसी मालिकका अनुसार मोकामाका पूर्वविधायक अनन्त सिंहले उनीसँग भिडियो कलमा कुरा गरेका थिए। उनले भिडियो कलमार्फत् राजालाई देखेका थिए।
मालिकले आफ्नो भैँसीको मूल्य २ करोड रुपैयाँभन्दा बढी रहेको जनाउँदै अनन्त सिंहले मात्रै किन्न सक्ने बताए। उनका अनुसार उनी बाहेक यो भैंसी अरु कसैले लिन सक्दैन।
बिहारका शक्तिशाली नेता सिंह सोनपुर मेलामा पुगे तर भैंसी किन्न भने चाहेनन्। यसअघि पनि भारतमा २३ करोड मूल्यको भैंसी भाइरल भइसकेको छ। जसको नाम अनमोल भनियो।
यसअघि पटनाको भेटेरिनरी ग्राउन्डमा भएको डेयरी एण्ड क्याटल एक्स्पोमा १० करोडको भैंसी गोलु-२ पुगेको थियो।