post-slider post-slider

प्रतिबन्धलाई सघाउन टिकटकलाई प्राधिकरणले लेख्यो पत्र

Image
A A

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णयअनुसार यो प्ल्याटफर्मलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न अनुरोध गरेको छ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि सघाउन आफूहरूले टिकटकलाई अनुरोध गरेको बताएका छन्।

यसअघि टिकटकका दक्षिण एसियाको पब्लिक पोलिसी र सरकारसँगको सम्बन्ध हेर्ने अधिकारीले यो सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई यसै साता पत्र पठाएका थिए।

मन्त्रिपरिषद बैठकले गरेको निर्णय अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरित रहेको भन्दै टिकटकले सातवटा बुँदामा नेपालमा आफ्नो प्ल्याटफर्मका कामहरूलाई राम्रोसँग अघि बढाउन गरिएका प्रयासको चर्चा गरेको थियो।

नेपालमा एउटा ठूलो जनतामाझ लोकप्रिय रहेको टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी कदमको कैयौं सत्तापक्षकै नेताहरूले विरोध गरिरहेका छन् र यो विवाद सर्वोच्च अदालतसम्म पुगेको छ।

नेपालीहरू दोस्रो ठूलो चाड तिहारमा व्यस्त रहेको समयमा सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

मन्त्रिपरिषदको निर्णयमा टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यससबम्बन्धी व्यवस्था सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मिलाउने उल्लेख छ।

त्यसलगत्तै नेपाल सरकारको निर्णयप्रति असहमति जनाउँदै टिकटकले नेपालको सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे सातवटा बुँदा स्मरण गराएको थियो।

दूरसञ्चार प्राधिकरणले शुक्रबार टिकटकलाई पठाएको उक्त पत्रको जबाफमा नेपाल सरकारले प्रतिबन्ध लगाउनेबारे निर्णय गरेका हुनाले सरकारसँग समन्वय गर्न उक्त सञ्जाललाई भनिएको छ।

उक्त सञ्जालले सामाजिक वातावरणमा नकारात्मक प्रभाव पारिरहेको र सामाजिक सद्भावमा क्षति पु¥याइरहेको निष्कर्ष निकाल्दै सरकारले नेपालभित्र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको पत्रमा उल्लेख छ।

यसअघि टिकटकले प्राधिकरणलाई पत्र पठाउँदै उक्त प्ल्याटफर्मलाई बन्द गर्ने सरकारको निर्णयबाट आफू चकित परेको जनाएको थियो।

उसले टिकटकमाथिको प्रतिबन्धले नेपाली युवाहरूलाई आर्थिक हानि गर्ने स्मरण गराएको छ।

प्रयोगकर्ताको सुरक्षा टिकटकको सबैभन्दा महत्वपूर्ण प्राथमिकता भएको बताउँदै उसले नेपालमा भएका र नेपालका सरकारी निकायसँग गरिएका समझदारीहरूको स्मरण गराउने सातवटा बुँदा पनि उल्लेख गरेको थियो।

उसले संयुक्त रूपमा नेपालमा इन्टरनेट सुरक्षा सचेतना अभियान  सञ्जालन गर्न प्राधिकरणसँग एउटा समझदारी गरेको पनि जनाएको थियो।

त्यस्तै उसले, यस वर्षको गत जुन ७ मा नेपाल सरकारका लागि स्थानीय कानुनको उल्लंघन भएको कुनै पनि सामग्रीबारे रिपोर्ट गर्न सकियोस् भनेर ‘ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टुल’ को पहुँच दिएको पनि उल्लेख गरेको थियो।

टिकटकले गत अगस्त २९ मा आफू नेपालमा डिजिटल सेवा करदाताको रूपमा दर्ता भएको पनि स्मरण गराएको छ।

त्यस्तै उसले सन् २०२२ को अक्टुबरदेखि गत जुनसम्म टिकटकको ‘कम्युनिटी गाइडलाइनहरू’ उल्लंघन गरेका २९ लाख ८० हजार भिडियोहरू नेपालमा आफ्नो प्ल्याटफर्मबाट हटाएको बताएको छ।

 

Tags: