post-slider post-slider

विश्वकप क्रिकेट : ‘बदला’ लिन चाहिरहेका होलान् राहुल द्रविड!

Image
A A

काठमाडौं- सन् २००७ मा वेस्टइन्डिजमा हुने एकदिवसीय विश्वकपका लागि चुनिएको भारतीय टिम कुनै ‘ड्रिम ११’ भन्दा कम थिएन।

कप्तान राहुल द्रविड, पूर्वकप्तान सौरव गांगुली र सचिन तेन्दुलकर, अनिल कुम्बले, विरेन्द्र सहवाग, महेन्द्रसिंह धोनी, युवराज सिंह, इरफान पठान, जहीर खान, हरभजन सिंह र अजित अगरकर टिमका सदस्य थिए।

टिमका कोच थिए ‘विवादस्पद कार्यकाल’ भएको अस्ट्रेलियाका पूर्वकप्तान ग्रेग चैपल।

भारतीय टिम दिग्गज खेलाडीले भरिभराउ भए पनि टिममा एकजुटताको व्यापक कमी देखिएको थियो त्योबेला। केही ठूला खेलाडीहरूमा फिल्डिङ पोजिसनदेखि ब्याटिङ अर्डरको मतभेद ड्रेसिङ रूमादेखि बाहिरसम्म देखिन्थ्यो।

यो कुरालाई कैयौं खेलाडीले आफ्नो किताबमा पनि उल्लेख गरेका छन्। कप्तानको हैसियतले द्रविडलाई सबैथोक व्यवस्थापन गर्न चुनौतीपूर्ण थियो।

फलस्वरूप दिग्गज खेलाडीहरू भएको भारतीय टिम नकआउटअघि नै प्रतियोगिताबाट बाहिरियो।

द्रविडको कप्तानीमाथि पनि ‘ग्रहण’ लाग्नु तय थियो। त्यसको केही महिनापछि कप्तान महेन्द्रसिंह धोनी नेतृत्वको एक युवा टिमले २००७ मा दक्षिण अफ्रिकामा भएको टि–२० विश्वकप जित्यो।

यो सिलसिला २०११ मा भारतमा एकदिवसीय विश्वकपमा पनि दोहोरियो।

तर, द्रविड त्यो टिमको सदस्य थिएनन्। उनले त्यही वर्ष क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए।

यतिबेला द्रविड भारतीय टिमका प्रमुख प्रशिक्षक छन्। पछिल्लो दुई वर्षदेखि उनले टिमलाई सम्हालिरहेका छन्।

द्रविडको एकाग्रता

सन् २००७ मा श्रीलंका र बंगलादेशसँग बेहोर्नुपरेको हारबारे केही दिनअघि एउटा पत्रकार सम्मेलनमा द्रविडले मुस्कुराउँदै भनेका थिए,‘यो कुरा बितेको धेरै दिन भइसक्यो। त्यतिबेला म एउटा खेलाडी थिएँ। वास्तवमा भन्ने हो भने म कुनैबेला खेल्थें भन्ने कुरा बिर्सिइसकेको छु। त्यो कुरालाई मैले पछाडि छोडिसकेको छु। अहिले म टिमलाई मदत गरिरहेको छु, खेलाडीहरूको फोकस बनाउनमा जुटेको छु।’

तर, द्रविडबेलाको श्रीलंकाका शानदार ब्याटर सनथ जयसूर्या भन्छन्,‘द्रविडजस्तो महान खेलाडीका लागि २००७ को परिणाम कुनै खराब सपनाजस्तै हो।’

अभ्यासमा फोकस

कोचको रूपमा द्रविड आज पनि नेट्समा अभ्यासलाई ज्यादै गम्भीरताका साथ लिने गरेका छन्। 

आफू नेट्समा सबैभन्दा पहिले पुगेर उनी खेलाडीहरूको अभ्यासलाई मिहीन ढंगले हेर्ने गरेका छन्, सुझाव दिन्छन् र ब्याटिङ कोच विक्रम राठौर र बलिङ कोच पारस म्हाम्ब्रेलाई हरेक गतिविधिमा सामेल गर्छन्।

टिमका फिल्डिङ कोच टी दिलीपले खेलाडीहरूसँग गरिरहेको मिहिनेतजस्तो अरू टिममा कमै हेर्न सकिन्छ।

बुधबार भारतीय टिम मुम्बईस्थित वानखेडे स्टेडियममा अभ्यासका लागि साँझ पुग्यो। द्रविडले सबैभन्दा पहिले पिचको निरीक्षण गरे। मंगलबार शुभमन गिल डेढ घन्टासम्म ब्याटिङ अभ्यास गरिरहँदा द्रविड ग्राउन्ड स्टाफसँग कुराकानी गरिरहेका थिए।

वानखेडेको पिच हल्का रातो माटोले तयार पारिएको छ। जसले गर्दा बल बाउन्स हुन्छ। द्रविडले पहिले ब्याटरहरूलाई तीब्र गतिको बलसँग अभ्यास गराए।

मोहम्मद सिराजले विराट कोहली र गिललाई धेरै बेरसम्म बाउन्सर फ्याले।

गएको शनिबार भारतीय टिम लखनऊको मैदानमा अभ्यास गरिरहँदा द्रविड कैयौंपटक पिच हेर्न गएका थिए।

द्रविडको शंका थियो–यो पिचमा ब्याटिङ कठिन हुनेछ। र, भयो पनि उस्तै। एउटा लो–स्कोरिङ म्याचमा भारतले इंग्ल्यान्डलाई पराजित ग¥यो।

अनुशासन आवश्यक

नोभेम्बर २०२२ मा अस्ट्रेलियामा टि–२० विश्वकप खेलिँदै थियो। देशको पश्चिमी भाग पर्थ सहरबाट एडिलेडका लागि क्वान्ट्स एयरवेजले उडान ग¥यो। विमान भरिभराउ थियो।

भारतीय क्रिकेट टिम पनि त्यही विमानमा थियो। एक दिनअघि दक्षिण अफ्रिकासँग म्याच हार बेहोरेपछि सबै खेलाडीको अनुहार मलिन थियो। फ्लाइट चार घन्टाको थियो।

तर, इकोनोमी क्लासको एक कुनाको सिटमा बसेका द्रविडले जहाज उड्नासाथ आफ्नो ल्यापटप निकाले। र, आगामी म्याचको योजना बनाउन थाले।

द्रविडले त्यो प्रतियोगितका लागि एउटा नियम बनाएका थिए। बिजनेस क्लासमा सिट कम हुने भएकोले बलरलाई पर्याप्त आराम हुनेगरी सिट व्यवस्थापन गर्नुपर्ने नियम बनाइएको थियो।

द्रविडसँग क्रिकेट खेलिसकेका र उनको कोचिङलाई फलो गरिरहेका वेस्टइन्डिजका पूर्वकप्तान डैरन सैमी भन्छन्,‘राहुल अब सेट भइसकेका छन्। उनीजस्तो मिहिनेती खेलाडी मैले एकदम कम देखेको छु। सुरूमा जुनियर टिमलाई कोचिंग गरे र सिक्दै सिकाउँदै यस्तो टिमको कोच बनेका छन् जसमा सुपरस्टार खेलाडीहरू छन्। यो कम चुनौतीपूर्ण होइन।’

यो महान खेलाडी र वर्तमान भारतीय कोचको नजर क्रिकेट दुनियाँको सबैभन्दा ठूलो मानिने ट्रफीतर्फ हुनेछ।

 

 

Tags: