भुकम्पपीडित भन्छन् – ‘हामीले राहत पाएका छैनौं’
काठमाडौं- शुक्रबार मध्यरातमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर आएको शक्तिशाली भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्यलाई गुमाए।
आमा सितली, भाउजु कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकैपटक गुमाएको पीडामा यतिबेला रावल छन्।
दनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासी आएको भूकम्पमा परेर उनले परिवारका अधिकांश सदस्यलाई गुमाए।
रावलको सात जनाको परिवारमध्ये तीन जनामात्र मृत्युको मुखबाट बाँच्न सफल भयो।
उनका पिता कृतिबहादुर, छोरी स्मृती गम्भीर घाइते भएका छन् भने दाजु विवश घरबाहिर भएका कारण ज्यान बचेको छ।
भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई प्राथिमकतामा राखेर तीब्र गतिमा काम अगाडि बढाइएको सरकारले बताएको छ।
त्यस्तै जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूका लागि राहतको ओइरो लागेको छ। सरकारका साथै विभिन्न संघसंस्था राहत सामग्री बोकेर भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेको छ भने कतिपयले राहत र सहयोगका लागि घोषणा गर्ने क्रम अझै जारी छ।
तर, रावल भन्छन्,‘मैले अहिलेसम्म राहत पाएको छैन।’
घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमा बस्नुपरेको छ।
कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उनले बताएका छन्।
‘सबै निकायलाई समस्या बताएको छु। तर, अहिलेसम्म कुनै सहयोग पाएको छैन,’ रावलले दुखेसो पोखे।
त्यस्तै नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक्ता रहेकोमा हालसम्म मुस्किलले २५० मात्र पुगेको जनाइएको छ।
नगरपालिकाका योजना शाखा प्रमुख नारायण खत्री पालको आवश्यक्ता भएको बताउँछन्।
एकद्वार प्रणालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको स्थानीयहरूको भनाइ छ।
नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले आफ्नो क्षमता अनुसार काम गरिरहेको बताए।
‘नगरपालिकाले सक्ने काम गरिरहेको छ, हाम्रो क्षमताभन्दा बाहिर हामी कसरी गर्नसक्छौं,’ उनी भन्छन्।
नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पु¥याएको छ।
तीन दिन बित्न लाग्दासम्म पीडितले त्रिपालसम्म पाउन सकेका छैनन्।
मिडियामा राहत आएको व्यापक हल्ला भए पनि आफूहरूले पाउन नसकेको पीडितहरूको गुनासो छ।
नलगाड नगरपालिकाको तथ्यांकअनुसार अहिलेसम्म ५४ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते छन्।
भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ भए पनि नलगाड नगरपालिकामा बढी क्षति भएको छ।
भूकम्पपीडित बस्तीमा सञ्चार सेवासमेत प्रभावकारी नहुँदा काम गर्न निकै मुस्किल भएको नगरप्रमुख रावतले बताए।
धैरैपटक टावर माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको उनको भनाइ छ।
भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौर बस्तीका ५१ वर्षीय दलबहादुर घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा थिए।
६.४ रेक्टरस्केलको भूकम्पको धक्काले दलबहादुरसँगै सिङ्गो बस्तीको निद्रा बिथोलियो।
भूकम्पको कम्पन नरोकिँदै दलबहादुर ज्यान जोगाउन झ्यालबाट हाम्फालेर भागेको बताउँछन्।
परिवारका अरू सदस्य कताबाट बाहिरिए आफूलाई अत्तोपत्तोसमेत नभएको उनको भनाइ छ। वर्षौंदेखि बसिआएको पुर्खौली घर एकाएक तहसनहस भयो।
भूकम्पको केन्द्रविन्दु रामीडाँडा क्षेत्रका अधिकांश बासिन्दाको अवस्था दलबहादुरको भन्दा फरक छैन। केन्द्रविन्दु भएर पनि त्यहाँ मानवीय क्षति भने भएको छैन।
भौतिक क्षति पनि जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटको भन्दा कम छ।
बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताए।
गिरी भन्छन्,‘घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ। तर, कुनै पनि घर बस्न लायक छैनन्। अहिले यहाँ करिब एक हजार घर परिवार विस्थापित छन्। उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो।’
उनका अनुसार करिब १०४ घर पूर्ण रूपमा भत्केका छन् भने चारभन्दा बढी घर चर्किएका छन्।
‘घर उभिएका मात्रै छन्। चर्किएका घर भत्किएका छैनन् भन्ने मात्रै हो,’ उनी भन्छन्,‘हामीलाई त्रिपालको समस्या छ। गाईलाई वनतिर धपाइदिएका छौं। अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ।’
बारम्बार भूकम्प आइरहने भएकाले घरभित्र छिर्ने अवस्था छैन। उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण संकलन गरिसकेका छन्।
तर, जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मी त्यतै केन्द्रित भएका छन्।
भूकम्पबाट जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ। भौतिक संरचनामा भएको क्षतिको विवरण अझै आउनसकेको छैन।