सुन तस्करी प्रकरण : दुई चिनियासँग भारतीय आधारकार्ड, तीन चिनियाँसँग नेपाली नागरिकता
काठमाडौं- हङकङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड रहेको पाइएको छ।
पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए। दुई जनासँग भारतीय आधार कार्डका साथै तीन जना चिनियाँसँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एकजनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता फेला परेको पनि उनले जानकारी दिए।
हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ।
गत साउन ३ गते ठीक एक महिनाअघि राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक सु बरामद गरेको थियो।
दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सिआइबीलाई हस्तान्तरण गरेको थियो।